कलैया,श्रीमतीको हत्या गर्ने भारत पूर्वीचम्पारण ढाका थाना रुपैलिया निवासी ३१ वर्षिय मोहमद अमानुल्लाह मियाँलाई बारा प्रहरीले कर्तव्य ज्यान मुद्दाअन्तर्गत कारबाही अघि बढाएको छ ।बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ६ बजार टोलस्थित माइती घरमा बस्दै आएकी २२ बर्षिय श्रीमती आसमिन खातुनको हत्या गरेको अभियोगमा बुधवार पक्राउ परेका मियाँमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।पक्राउ परेका मियाँलाई बारा प्रहरीले बिहिवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।मियाँले घरायसी विवादमा मासु काटने हतियारले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बोगटीले बताउनुभएको छ । प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको हतियारसमेत बरामद गरेको जनाएको छ ।घटना सम्वन्धी जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय सिम्रौनगगढबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घटनास्थलबाट भाग्दै गरेका मियाँलाई गाँउलेहरुको सहयोगमा नियन्त्रणमा लिएको थियो ।एक वर्षदेखि माइतीमा बस्दै आएकी आसमिनलाई मियाँले घरभित्र प्रवेश गरी बिहान ४ बजे घाँटी रेटेर हत्या गरेका थिए । अमानुलाहसंग मनमुटाव बढेपछि खातुन दुई छोरा र एउटी छोरीसंगै माइती घरमा आएर बस्न थालेकी थिइन । उनीहरुबीच विवाह लगत्तै मनमुटाव सुरु भएको थियो । एक्कासी घरभित्र प्रवेस गरी ढोका बन्द गरेर मियाँले धारिलो हतियारले घाटी रेटी हत्या गरेको बुवा जहिर मियाँले बताउनुभएको छ ।

Leave a Reply