पुष्पराज खतिवडा
मनहर्वा,बारा प्रहरीले १३ लाख ५० हजार अवैध नेपाली रुपैंयासहित हुण्डी कारोबारमा संलग्न रहेका २ जना व्यक्तिहरुलाई पक्राउ गरी मंगलवार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा बस्ने असर्फी राउत कुर्मीको छोरा वर्ष ३४ को हरिकिशोर प्रसाद पटेल र बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर १ बस्ने राजिन्द्र महतो कोइरीको छोरा वर्ष ४२ को रमेशप्रसाद कुशवाहा छन् ।
कुशवाह महागढिमाई– १ को बरियारपुरमा संचालित आर.के.मनी टान्फरका संचालक हुन् । उनले संचालन गरेको मनी टान्फरले दुई दिनमा ८ करोड रुपैंयाको शंकास्पद कारोबार गरेको पाइएको छ । उनको कारोबारको विस्तृत अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक सुरेशप्रसाद काफ्ले जनाउनुभयो । पक्राउ परेका अर्का पटेल भने रकम ओसार पसारमा संलग्न व्याक्ति भएको पाइएको उहाँले बताउनुभयो ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सोमवार दिउँसो जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ मुसहर्वाबाट उनीहरुलाई रकम सहित नियन्त्रणमा लिएको हो । मुसहर्वा सडक खण्डमा पक्राउ परेका पटेलले चलाएको प्रदेश २–०३–०१६ प २३३७ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालमा श्रोत नखुलेको रकम फेला परेको हो । उनी नियमित रुपमा भारतबाट अबैध रकम ओसार पसारमा संलग्न रहेको पाइएको बारा प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले विभिन्न दरको नेपाली रूपैंया १३ लाख ५० हजार बरामद गरेको छ । पक्राउ परेकाहरु उपर संगठित अपराधमा मुद्दा दर्ता गरी अनुसन्धान गरिने बाराका प्रहरी उपरीक्षक काफ्ले जानकारी दिनुभयो ।
योसंगै जिल्लामा पछिल्लो एक महिनामा प्रहरी करिब ३५ लाख अवैध नेपाली रुपैया बरामद गरी कानुनी कारबाही भइरहेको जनाएको छ । हुण्डी कारोबारी पक्राउ परेको यो घटना चैत्र महिनामा तेस्रो भएको प्रहरीको भनाई छ ।



















