वीरगञ्ज,पर्साको वीरगञ्जमा रहेको सिर्सिया नदी किनारमा वीरगञ्ज महानगरपालिकाले वृक्षारोपण शुरु गरेको छ ।प्रदूषित बनेको नदीको संरक्षणका साथै सरसफाइका लागि नदीको किनारमा महानगरले वृक्षारोपण शुरु गरेको हो । नदीको दुवै किनारामा वृक्षारोपण गर्दा हराभराका साथै सुन्दर देखिने र यसले नदी कटानबाट पनि बचाउने हुँदा नेपाल–भारत सीमाको मितेरी पुलदेखि उत्तरतर्फ महानगर क्षेत्रमा पर्ने सिर्सिया किनारमा वृक्षारोपण शुरु गरिएको महानगरका मेयर राजेशमान सिंहले बताउनुभयो ।राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति (कार्यक्रम कार्यान्वयन एकाइ, भरतपुर चितवन) र ग्रिन सिटी सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा महानगरपालिकाले नदी किनारमा उन्नत जातका बाँस (चाप र हरौट) रोप्ने कार्य शुरु गरेको हो । मनसुनमा बाढीले सिर्सिया नदी कटान गर्दै आएको छ । साथै तटिय क्षेत्रमा डुबानको समस्या छ ।महानगरले नदी सफाइका लागि औद्योगिक क्षेत्रबाट निस्कने लेदो पानी फाल्न रोक लगाएको छ । पर्सा–बारा औद्योगिक करिडोरमा सञ्चालित उद्योगबाट निस्किने फोहर पानीका कारण सिर्सिया नदी प्रदूषित बन्दै गएको छ । अभियन्ताले नदीलाई प्रदूषणमुक्त गर्न माग गर्दै आएका छन् ।

















