कृष्णउदास खनाल
वीरगञ्ज,कोरोनाकालमा अर्थतन्त्र नराम्रोसंग थला परेपछि त्यसको असर नेपाली सिने क्षेत्रमा पनि परेको छ ।नेपाली सिनेको एक अंगको रुपमा रहेको भोजपुरी चलचित्रमा समेत यसले गम्भीर असर पारेको छ । अहिले भोजपुरी चलचित्रका निर्देशक तथा निर्माता एवम् कलाकारहरु फुर्सदिला देखिएकाछन् ।वीरगञ्ज क्षेत्रमा केही चलचित्रहरुको छायांकन हुने गरेको भएपनि कोरोनापछि भने खासै चलचित्रको छायांकन यस क्षेत्रमा भइरहेको छैन । चलचित्र निर्माण गर्ने सोच भएपनि बजारमा अर्थ अभाव भएकाले राम्रो चल्नेमा आशंका भएकाले फेरि लगानी गरेर चलचित्र बनाउनका लागि सोच्न पर्ने अवस्था आएको होटल तथा पर्यटन ब्यवसायी संघ पर्साका अध्यक्ष समेत रहेका र मेला चलचित्रका निर्माता हरि पन्तले बताउनुभयो ।अर्थतन्त्र सही बाटोमा नआउदासम्म मोफसलमा बसेर चलचित्र निर्माण गरिहाल्नका लागि आँट आइनहालेको पनि निर्माता पन्तको भनाइ छ ।कुनै बेला निकै ब्यस्त रहेका भोजपुरी चलचित्रका नायक परदेशी साह अहिले फुर्सदमै देखिनुहुन्छ । अहिले चलचित्र निर्माणका क्रममा कमी आएकाले पनि आफ्नो दैनिकी फेरिएको साहले बताउनुभयो ।वीरगञ्जमा रहेका सिने घरहरुका पनि दर्शकहरुको उपस्थिति न्यून देखिएको छ । कोरोनापिछ सिनेमा घरमा दर्शकहरु आउनेक्रम घटेको र बिस्तारै बढ्ने अपेक्षा गरिएको वीरगन्जका सिनेघर संचालक ब्यवसायीहरु बताउछन् । वीरगञ्ज नेपाली चलचित्र क्षेत्रका लागि उर्वर भूमिको रुपमा पनि लिइन्छ । पंचायतकालदेखि नै यहाँ नेपाली चलचित्र प्रदर्शन तथा यहाँका केही व्यक्तिहरुको सिने क्षेत्रमा राम्रो लगानी रहेको देखिन्छ ।भारतीय चलचित्रको राम्रो प्रभाव रहने वीरगन्जमा, अहिले भने नेपाली र भारतीय दुबै चलचित्रको प्रभाव घटेको छ ।



















