कलैया,बारा जिल्लाका मुख्य शहरहरू कलैया, निजगढ, कोल्हबी, जीतपुरसिमरा र पर्साको वीरगञ्जमा विद्युत् आपूर्तिको समस्या दिन प्रतिदिन गम्भीर बन्दै गएको छ ।नेपाल विद्युत् प्राधिकरण कलैया शाखाका प्रमुख इन्जिनियर हिमान्सुकुमार यादवले यदि तत्काल समाधान नभए आगामी वर्षदेखि यहाँका उपभोक्ताहरुले सहज रुपमा विद्युत उभोग गर्न नपाउने चेतावनी दिनुभएको छ ।

प्राधिकरणका अनुसार हाल ३३ केभी लाइन बारम्बार ट्रिप हुनु, ट्रान्सफरमरहरू जल्ने, तथा विद्युत् लाइनका तारहरू झर्ने समस्या दैनिकजसो हुने गरेको छ । यो समस्या निजगढ र कलैया क्षेत्रमा रहेको छ ।अत्यधिक लोड, प्रविधिगत कमजोरी र मर्मत सम्भारमा चुनौतीका कारण अस्थायी रूपमा विद्युत् सेवा प्रभावित भइरहेको यादवले जानकारी दिनुभयो । “पहिलाको तुलनामा विद्युत् माग धेरै बढेको छ तर आपूर्ति स्रोत पुरानै छ,” यादवले भन्नुभयो, “हुकिङ गरेर चोरी गर्दा लाइनमा तार जुध्ने, फ्युज जाने र ट्रान्सफरमर जल्ने समस्याहरू पनि देखिएका छन् ।”

वीरगञ्ज क्षेत्रमा नयाँ लाइन र लो–रेटिङ कन्डक्टरको सट्टा उच्च क्षमताको कन्डक्टर जडान गर्न खोज्दा स्थानीयको अवरोधका कारण काम रोकिएको बताइएको छ । कोल्बी– १, महवा लगायतका क्षेत्रमा स्थानीय असहयोगका कारण बाराको कोल्बी ३३ केभी लाइन अझै सञ्चालनमा ल्याउन सकिएको छैन ।विद्युत् आपूर्तिमा सुधार ल्याउन सम्बन्धित निकाय, जनप्रतिनिधि तथा स्थानीयबासी सबैको सहकार्य आवश्यक भएकोमा इन्जिनियर यादवले जोड दिनुभएको छ ।

 

Leave a Reply