सिमरा,सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब सिमरामा जारी जगदम्बा स्टिल १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।सिमरा रङ्गशालामा सोमवार राती भएको दोश्रो क्वाटरफाइनल खेलमा मकवानपुर ११ हेटौंडालाई २÷० गोल अन्तरले पाखा लगाउँदै एपिएफले अन्तिम चारको यात्रा तय गरेको हो । एपिएफको जितमा विके तामाङ र प्रदिप लामाले एक–एक गोल गरे ।

हेटौंडा विरुद्ध शुरुदेखिनै आक्रामक खेल खेलेको एपिएफका लागि खेलको ३०औं मिनटमा विके तामाङ्गले गोल गर्दै अग्रता दिलाएका थिए । विश्वास उदासको क्रस बल सम्हाल्दै हेटौंडाका डिफेण्डर बिट गर्न सफल बिकेले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
पहिलो हाफ आफ्नो पक्षमा पार्न सफल एपिएफले खेलको ६८औं मिनटमा अग्रता दोब्बर बनायो । एपिएफका प्रदिप लामाले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । सुमन श्रेष्ठले प्रहार गरेको कर्नर बललाई डिबक्स भित्र सम्हाल्दै लामाले आकर्षक गोल गरेका थिए ।

दोश्रो हाफमा एपिएएफ विरुद्ध केहि राम्रा अवसर बनाएर पनि फिनिसिङमा चुक्दा हेटौंडाको टोली प्रतियोगिताबाट बाहिरीन बाध्य भयो । एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले हेटौंडाका उत्कृष्ट प्रहारहरु विफल पारेका थिए ।खेलको म्यान अफ दि म्याच एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ घोषित भए । उनले १० हजार नगद र ट्रफि प्राप्त गरे । म्यान अफ दि म्याच श्रेष्ठलाई आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख कर अधिकृत राजकुमार खतिवडा र शुभारम्भ कलेज अफ म्यानेज्मेन्टका अध्यक्ष लालप्रसाद पुडासैनीले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगिता अन्तर्गत मंगलवार दुई ‘ए’ डिभीजन टोली त्रिभूवन आर्मी र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । वीरगञ्जलाई हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको आर्मी विरुद्ध बिराट गोल्डकपको उपाधि लिएर बिराटनगरबाट सिमरा आएको मच्छिन्द्र क्लब सिधै सेमिफाइनल प्रवेशका लागि खेल्नेछ ।

Leave a Reply