पुष्पराज खतिवडा
गजंभवानीपुर,राज्यबाट प्राप्त करोडौं रुपैयाँ र आन्तरिक आम्दानीसमेत बलियो रहेका बाराको महागढीमाई नगरपालिकाले स्थानीय जनताको लागि अत्यावश्यक विकास निर्माण र सेवा सञ्चालनको विषयहरूमा ध्यान नदिएको भन्दै स्थानीयबासीले गुनासो गरेका छन् ।महागढीमाई जस्तै जिल्लाका अधिकांश पालिकाले जनताको सुविधाको लागि सडक, विजुली, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता सेवा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा पालिकाहरु त्यस्ता विषयबाट विमुख भएको आरोप लाग्ने गरेको छ ।

यसैको उदाहरणको रूपमा रहेको छ— कलैया– गजंभवानीपुर सडक । करिब तीन किलोमिटर लामो यो सडकको अवस्था यति दयनीय छ कि दैनिक हजारौं सर्वसाधारण, विद्यार्थी र बिरामीहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । साँघुरो र सडकको बिच भागमा रहेका गहिरा खाल्डाहरूले आवागमन कष्टकर बन्दैआएको छ । तर स्थानीय सरकार र तिनका प्रतिनिधिहरू यसप्रति बेखबर जस्तै देखिन्छन् ।गजंभवानीपुरका मनिक पटेल भन्नुहुन्छ, “सडकको हालत भयावह छ, तर विकल्प छैन, बाध्यताले सोही सडकको प्रयोग गर्नुपर्छ ।” त्यस्तै, अटोचालक भैरव यादवले दुःखेसो पोख्दै भन्नेुभयो, “खल्डैखाल्डा सडकमा गाडी हाँक्दा कहिलेकाहीँ यात्रुबाट कमाएको पैसा अटो मर्मतमै सकिन्छ ।”

कलैया उपमहानगरपालिका वडा नम्बर २७ का वडा अध्यक्ष अशोककुमार तिवारीले सडक मर्मतको विषयमा प्रदेश सरकारको उदासीनता उल्लेख गर्दै भन्नुभयो, “तीन वर्षअघि नापी, नक्सा र डिपिआर गरियो, तर त्यसयता कुनै काम अघि बढेको छैन ।”
७७ करोड ५५ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको महागढिमाई नगरपालिकाका धेरै ग्रामीण तथा सहायक सडकहरूको अवस्था जस्तै दयनीय रहेको स्थानीय संचारकर्मी शिवशंकर मिश्र बताउँनुहुन्छ । “पालिका, प्रदेश र केन्द्र एकअर्कामाथि दोष थोपार्छन्, तर काम कोही गर्दैन,” मिश्रले भन्नुभयो, “स्थानीय सरकारले प्रभावकारी काम नगर्दा हामी नागरिक दुःख पाउँदै आएका छौं ।”महागढिमाई नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष चन्दनकुमार साह भन्नुहुन्छ, “गढीमाई मेलाका बेला अलिअलि मर्मत गरियो, त्यसयता केही भएको छैन । वल्र्ड बैंकको सहयोगमा सडक निर्माण गर्ने भनेर टोली आए पनि उनीहरू फर्केर फर्केका छैनन् ।” उहाँका अनुसार स्थान व्यवस्थापनदेखि आवश्यक सहयोगका निर्णयहरू वडा प्रतिनिधिहरूले गरे पनि काम अघि बढ्न सकेको छैन ।

Leave a Reply