वीरगन्ज,वीरगन्ज उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यले आफ्नो कार्यकालको १०० दिन पूरा गरेको अवसरमा प्रदेश नम्बर २ का प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारसँग भेटघाट तथा छलफल कार्यक्रम गरेका छन ।

कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले स्वागत मन्तव्य व्यक्त गर्दै हाल कायम रहेको शान्ति सुव्यवस्थाको स्थायित्वको लागि आग्रह गर्नुभयो । उहाँले कोभिड १९ को सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै सङ्घले आफ्नो सक्रियतामा नारायणी अस्पतालमा बाल सघन चिकित्सा इकाईको निर्माण सम्पन्न गरेको र हाल उक्त इकाईबाट प्रभावकारी स्वास्थ्य सेवा प्रदान भई रहेको जानकारी गराउनुभयो । त्यस्तै उहाँले वीरगन्ज नगरभरि विस्तारित सिसिटिभी परियोजनाको लागि दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने, औद्योगिक कोरिडोरको सुरक्षाको लागि औद्योगिक सुरक्षा बल पुनः स्थापना गर्नुपर्ने, औद्योगिक कोरिडोरको लागि केमिकलयुक्त वारुणयन्त्रको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिनुभयो ।

प्रदेश नम्बर २ का प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले अपराधीहरु एडभान्सड र प्रविधिमय भइ सकेकोले अपराध न्यूनीकरणको लागि घटनास्थलमा प्रहरी उपस्थित भइ अपराध अनुसन्धान गर्नुपर्ने पूरातन अवधारणालाई त्यागी स्मार्ट पुलिसिङ्गको धारणा अनुरुप प्रहरी प्रविधिमय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल प्रहरी पनि प्रविधिमैत्री हुँदै गइरहेको कुरा बताउनुभयो । नेपाल उद्योग वाणिज्य सङ्घ–प्रदेश नम्बर २ का अध्यक्ष तथा वीउवासङ्घका पूर्वअध्यक्ष गणेशप्रसाद लाठ तथा पूर्वअध्यक्ष अशोककुमार वैधले वीरगन्ज–रक्सौल नाकाबाट हुने सर्वसाधारणको आवागमनमा सहजता प्रदान गर्नको लागि अनुरोध गर्नुभयो । सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा सङ्घका उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here