निजगढ,शुक्रवार आएको हुरीले थाम ढालेर निजगढका किसानहरुले लगाएको केरा खेती नष्ट पारेको छ ।हुरीले पाक्ने बेला भएको केराको बोट ढालेपछि निजगढ नगरपालिकाका किसानको ४ करोडभन्दा बढी रकम बराबरको केरा खेती नष्ट भएको जिल्ला फलफुल तथा केरा उत्पादक संघका अध्यक्ष एकबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हुरीले नगरमा किसानले गरेको केरा खेतीमा पु¥याएको विवरण संकलन गर्ने कार्य भइरहेको र वडा नम्बर ९ मा सबैभन्दा बढी क्षति भएको छ ।

‘वडा नम्बर ९ मा मात्रै २ करोडभन्दा बढीको केरा खेती नष्ट भएको छ, स्थानीय किसान मानबहादुर श्रेष्ठले भन्नुभयो, वडामा किसानले लगाएको २३ सयभन्दा बढी केराको बोट हुरीले ढालेको छ ।’ उहाँका अनुसार हुरीले वडा नम्बर ९ का चित्रप्रसाद चौलागाईलगायत दर्जनौं किसानको केरामा क्षति पुगेको हो ।केरा पकेट क्षेत्र घोषणा भएपछि निजगढका सयौं किसानले केरा खेती गर्दैआएका छन । निजगढमा उत्पादन भएको केरा प्रतिघारी ६ सयदेखि ९ सय रुपैयासम्ममा बिक्री हुदैआएको छ ।
यसैबीच निजगढ तामागढी सडकमा हुरीले ढालेको रुखले थिचेर शुक्रवार बिहान एक जना टेम्पु चालक घाइते भएका छन् । रात्री बसका यात्रु बोक्न भनेर कोल्हबीबाट निजगढको तामागढी गेटतर्फ आउदै गरेको अवस्थामा सो सडकको ठूलो घोल नजिक गुडिरहेको टेम्पुसंगै चौधरी पनि बिहान २.३० बजे हुरीले ढालेको रुखमा च्यापिएका थिए ।

कोल्हवी नगरपालिका ३, जुअवाका टेम्पु चालक सिकेन्द्र चौधरी रुखले थिचेर घाइते भएका हुन । रुखको हाँगाले थिचेर चौधरीको टाउकोमा गम्भीर चोट लागेको र टाउकोमा १२ वटा टाका लगाइएको इलाका प्रहरी कार्यालय कोल्हबीले जनाएको छ । हुरीमा ढलेको रुखले प्रदेश २–०३–००१ ह १२८२ नम्बरको अटो र चालक चौधरीलाई थिचेको थियो । चौधरीसंगै पछाडिबाट आउदै गरेको अर्को टेम्पुका चालकले चौधरीलाई रुखले थिचेको देखेपछि प्रहरीमा खबर गरेका थिए । स्थानीयका अनुसार कोल्हबी नगरपालिकाबाट आएको एक्साभेटरको मद्दतमा रुख हटाएर चौधरीको उद्धार गरिएको थियो । चौधरीको कोल्हबीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ ।
यसैबीच शुक्रवार रातिको हावाहुरीले निजगढमा पनि ४ घण्टाभन्दा बढी समय विद्युत अवरुद्ध भएको छ । हुरीले निजगढका विभिन्न ठाउँमा विजुलीको तार चुडालेको र मर्मतपछि राति ८ बजेबाट विद्युत आपूर्ति सुचारु गरिको विद्युत प्राधिकरण निजगढ वितरण उपशाखाका प्रमुख नरेन्द्र मण्डलले जानकारी दिनुभयो । त्यसैगरी हुरीले बिजुलीको पोल भाँचिएपछि कलैया उपमहानगरपालिका श्रीपुर गाउँमा पनि २ दिनदेखि विधुत अवरुद्ध बनेको छ ।

उता, रौतहटको गुजरा नगरपालिका ३ सिमरीमा शुरु भएको श्रीमद् भागवत सप्ताह हुरीका कारण स्थगित भएको छ । शुक्रवार बिहान कलश यात्रापछि शनिवार बाट कथा वाचन शुरु गर्ने कार्यक्रम भएपनि महायज्ञ स्थलमा निर्माण गरिएको पण्डालसहित सजावटका सामग्रीहरु उडाएपछि केही दिनेको लागि महायज्ञ स्थगित गरिएको आयोजक समितिले जानकारी दिएको छ ।स्थानीय श्री राधाकृष्ण मन्दिरको प्राण प्रतिष्ठा एंव मन्दिरको भौतिक संरचना निर्माण र गाउँमा लाग्ने हाट बजार व्यवस्थापन तथा अक्षय कोष स्थापना गर्ने उद्देश्य आगामी ९ गतेसम्म आयोजना गर्न लागिएको सो सप्ताहामा आचार्य पण्डित गणेश उपमन्यु ढकालले कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।हुरीले स्थानीयको दर्जनौं घरको छाना उडाउनुको साथै जंगलको रुख ढलेर विद्युत र सडकसमेत अवरुद्ध बनेको छ ।त्यस्तै जीतपुरसिमरा उपमहानगरपालिका १६ पिलुवामा क्षति पुर्याएको एक स्थानीयको घर पुर्ननिर्माण गर्न स्थानीयले सहयोग रकम जुटाएका छन् । हावाहुरीका कारण ढलेको रुखले स्थानीय सीता नेपालको घरमा क्षति पुर्याएपछि स्थानीयले पुर्ननिर्माणका लागि सहयोग रकम जुटाएका हुन् । नेपालको घर मर्मत गर्न स्थानीयले ६१ हजार रकम संकलन गरी हस्तान्तरण गरेको जीतपुरसिमरा १६ का वडाध्यक्ष हरिदेव खरेलले जानकारी दिनुभयो ।

Leave a Reply