धिरेन्द्र तिवारी
कलैया,प्रादेशिक अस्पताल कलैयाको स्टोर कक्षमा तालाबन्दी भएकोछ । स्टोरका सहायक मनोज यादवले विगत केही वर्षदेखिको आम्दानी र खर्चको हिसावकिताब नबुझाएको भन्दै अस्पतालका कर्मचारीहरुले स्टोरमा शनीवार १ बजेको समयमा तालाबन्दी गरेका हुन । यस विषयमा केही महिना अगाडिदेखि अस्पताल विकास समितिले यादवसंग पटकपटक स्टोरको हिसाब माग गर्दैआएको थियो ।तर यादवले अहिलेसम्म अटेरी गरी हिसाब नबुझाएपछि समस्या उत्पन्न भएको अस्पताल विकास समितिका सदस्य शेषनाथ कुशवाहाले जानकारी गराउनुभएको छ ।तालाबन्दी कारण अस्पतालमा कुनै किसिमको समस्या उत्पन्न भएमा त्यसको सम्पुर्ण जिम्मेवारी यादवले नै लिनुपर्ने पनि कुशवाहाले जानकारी गराउनुभएको छ ।स्टोरका सहायक मनोज यादवले प्रादेशिक अस्पताल कलैयाको स्टोर फाँटलाई अनयमितताको अखडा बनाएर भाँड्भैलो मच्याएको अस्पताल स्रोतले जानकारी गरायको छ ।तालबन्दीको विषयमा प्रादेशिक अस्पताल कलैयाका सूचना अधिकारी तथा स्टोर फाँटका प्रमुख प्रेम पण्डितले तालाबन्दीको बारेमा आफूलाई फोनबाट जानकारी आएको बताउनुभएको छ । आइतवार कार्यालयमा गएर घटनाको बारेमा छलफल गरिने पनि उहाँले बताउनुभयो ।तर अस्पताल स्रोतका अनुसार जबसम्म स्टोर सहायक मनोज यादवले स्टोर नछाडेसम्म तालाबन्दी यथावत रहने जानकारी गराएको छ ।

















