कलैया,बाराको करैयामाई र फेटा गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन । दुबै गाउँपालिकाले कार्तिक १९ गते (बुधबार) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेका हुन ।करैयामाई गाउँपालिकाको वडा नम्बर २ करैया गाउँस्थित श्री राजदेवीमाई मन्दिर परिसरमा परम्परागत रूपमा लाग्ने मेलामा धुमधाम र हर्षोल्लासका साथ पूजा–आराधना गर्न पाउने वातावरण बनाउने उद्देश्यले बिदा दिइएको गाउँपालिका अध्यक्ष शम्भुप्रसाद यादवले सोमबार एक सूचना जारी गर्दै जनाउनुभएको छ ।
सूचना अनुसार उक्त दिन गाउँपालिका र वडा कार्यालय, शैक्षिक संस्था, तथा बर्थिङ सेन्टर बाहेकका स्वास्थ्य संस्थाहरूमा पनि बिदा रहनेछ । अत्यावश्यक सेवा सञ्चालनमा भने कुनै अवरोध नहुने जनाइएको छ ।त्यसैगरी जिल्लाको फेटा गाउँपालिकाले पनि पूर्णिमा व्रत समापनको अवसरमा लाग्ने मेलाको अवसरमा भोलिको लागि एकदिने सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाले मंगलवार एउटा सूचना जारी गर्दै कात्तिक १९ गते बुधबार सार्वजनिक बिदा दिएको जनाएको हो ।
फेटा गाउँपालिका वडा नम्बर १ त्रिवेणीमा पुर्णिमा ब्रत-कार्तिक स्नान समाप्तिको अवसरमा खैरातिमाई मेला लाग्ने भएकोले आजको निर्णयअनुसार बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले जानकारी दिनुभएको छ ।उहाँका अनुसार मेलाको अवसरमा गाउँपालिका मातहतका सम्पुर्ण वडा कार्यालय, शैक्षिक संस्था बन्द रहनेछन ।


















