वीरगन्ज,बिगत एक महिनादेखिको निषेधाज्ञाका कारण वीरगन्जका दुई भन्सार कार्यालयहरूको दैनिक कामकाजदेखि राजस्व असुली प्रभावित भएको छ । वीरगन्ज र सिर्सिया सुख्खा बन्दरगाहको दैनिक राजस्व असुली ह्वात्तै घट्दा मासिक लक्ष्य भेट्टाउन कठिन भएको हो । वीरगन्ज भन्सार कार्यालयले जेठमा १९ अर्ब ५७ करोड संकलनको लक्ष्य पाएकोमा आइतबारसम्ममा जम्मा २ अर्ब ४८ करोड रुपैयाँ मात्र उठेको छ । यो रकम मासिक लक्ष्यको १३ प्रतिशत मात्र हो । मासिक लक्ष्य भेट्टाउन भन्सार कार्यालयले दैनिक ७० देखि ७५ करोड रुपैयाँ असुली गर्नुपर्नेछ । हाल दैनिक औसत ३५ करोड रुपैयाँ मात्र संकलन भइरहेको कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताउनुभयो सवारीसाधन नचल्दा इन्धनको आयात पनि घटेको र नयाँ सवारीसाधन आयातकर्ताहरूको अहिले अर्डर नै नआएको पौडेलले बताउनुभयो । जसले गर्दा राजस्व असुलीमा असर परेको उहाँले बताउनुभयो । सुक्खा बन्दरगाह भन्सार कार्यालयले अवस्था पनि उस्तै छ । यो भन्सारले जेठमा ५ अर्ब १३ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकोमा आइतबारसम्ममा १ अर्ब २१ करोड ९० लाख मात्र संकलन गरेको छ । जुन मासिक लक्ष्यको २३.७४ प्रतिशत मात्र हुन आउछ । प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले अहिले बन्दरगाहको यार्डमा ठूलो परिमाणमा मालवाहक कन्टेनर, बल्क कार्गो वस्तुहरू तथा फलाम आयातकर्ताले जाँचपास नगरेकाले पर्याप्त राजस्व असुली हुन नसकेको बताउनुभयो ।

Leave a Reply