काठमाण्डौ – नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै सरकारको वार्षिक नीति तथा कार्यक्रम नै प्रस्तुत गर्न नदिने तयारी गरेपछि सरकारले संसद् खुलाउने तयारी तीव्र बनाएको छ ।जेठ १ गते मङ्गलवार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । तर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचतकर्ताको रकम अपचलन गरेको विषयमा अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउनैपर्ने अडानसहित नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

कांग्रेसको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग छलफल गर्नुभएको छ । आज बिहान सरकारी निवास बालुवाटारमै बोलाएर प्रचण्डले देउवासहितका नेताहरूसँग छलफल गर्नुभएको हो । भेटवार्तामा उहाँहरूबीच संसद् बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको भेटमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । कांग्रेसका मागका सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहनुभएको नेता लेखकले बताउनुभयो ।यसैबीच प्रधानमन्त्री प्रचण्डले सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम विना अवरोध प्रस्तुत हुने दाबी गर्नुभएको छ । उहाँले भोलि बेलुकासम्म कांग्रेससँग सहमति हुने र सरकारको नीति तथा कार्यक्रम सहज ढङ्गले अघि बढ्ने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply