वीरगन्ज,वीरगन्जस्थित सर्वोत्तम स्टिल उद्योगले ५ जना मजदुर मृत्युको घटना एक सातासम्म लुकाएको रहस्य खुलेको छ । सर्वोत्तम स्टिल उद्योगमा भदौ १० गते फलाम गलाउने भठ्ठी पड्किएर घाइते भएका मध्ये ५ जना मजदुरको उपचारका मृत्यु भएको छ । भारतको पटनास्थित एपोलो अस्पतालमा उपचाररत ६ जना मध्ये ५ जना मजदुरको मृत्यु भएको हो ।

मृतक सबै ५ जना भारतीय नागरिक हुन् । पटनामा उपचारका क्रममा भारतको बिहारका ५२ वर्षिय विनोद पाण्डे, बिहारकै २७ वर्षिय गगन नायक बिहारी, भारतकै उत्तर प्रदेशको खुसीनगरका ३२ वर्षिय धिरु सहनी, उत्तर प्रदेशकै लखनउका ३७ वर्षिय मानस परिदा र लखनउकै ३० वर्षिय रामपुकार यादवको मृत्यु भएको हो ।

पटनाको एपोलो अस्पतालमा उपचारका क्रममा ३ जनाको भदौ १६ गते र २ जनाको भदौ १८ गते मृत्यु भएको जानकारी बिहीबारमात्र पाएको पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले बताउनुभयो । भठ्ठी विस्फोटको घटना ढाकछोपको प्रयासमा शुरुदेखि नै लागेको उद्योग व्यवस्थापन पक्षले ५ जना मजदुरहरुको मृत्यु भइसकेको भएपनि आधिकारिक रुपमा जानकारी नै दिन मानेको छैन । बिहीबार साँझ उद्योगका महाप्रवन्धक गुरुप्रसाद चौधरीको प्रतिकृया लिन खोज्दा उनी सम्पर्कमै आउन चाहेका छैनन् । उनको मोबाइल नम्बर ९८५१२३७१८७ पटक पटक फोन सम्पर्कमा गर्दा उनले फोन नै काटी दिने गरेका छन् । यसअघि घटना भएकै दिन पनि घटनास्थलमा सन्चारकर्मीलाई समेत जान नदिइ उद्योगको मूल गेटबाटै उद्योग व्यवस्थापनले फर्काइ दिएको थियो ।

त्यसपछि वीरगन्जमै सुविधा सम्पन्न ठूला अस्पतालहरु भएपनि घटनाको वास्तविकता बाहिर सार्वजनिक नहोस् भनेर उद्योग व्यवस्थापनले घटना भएकै दिन ६ जना मजदुरलाई उपचारका लागि भन्दै रातारात भारतको पटना लगेको थियो । घटना भएकै दिन वीरगन्जको अस्पतालमा उपचारत मजदुरले सन्चारकर्मीलाई उद्योगकै लापरवाहीका कारण भठ्ठी पडकिएर आगो लागेको रहस्य खोलेपछि त्यहि दिन ती मजदुरसहित ६ जना घाइतेलाइै रातारात पटना लगिएको थियो ।

घटनाको वास्तविकता लुकाउन उद्योग व्यवस्थापनको प्रयासलाई स्थानीय प्रशासनले पनि साथ दिएको आशंका गरिएको छ । किन कि नेपाली उद्योगमा भएको घटनामा घाइते ५ जना मजदुरको एक साता पहिले नै मृत्यु भएको भएपनि यस बारे स्थानीय प्रशासनले भने सामान्य जानकारी समेत राखेको छैन ।

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले ५ जना मजदुरको मृत्यु भएको खबर आफुले पनि सुनेको तर आधिकारिक रुपमा जानकारी आफुलाई नआएको बताउनुभयो ।

वीरगन्ज २२ जगरनाथपुर मनियारीस्थित हालै सन्चानलमा आएको सर्वोत्त्तम स्टिल उद्योगमा भदौ १० गते दिउसो उद्योगकै लापरवाहीका कारण फलाम पगाल्ने भठ्ठी पड्कीएर आगो लाग्दा १५ जना मजदुर घाइते भएका थिए । ती मध्ये गम्भिर घाइते ६ जनालाई नेपालमा उपचार नगराइ उद्योग व्यवस्थापनले उपचारका लागि भदौ १० गते राति नै भारत बिहारको पटना लगेको थियो । अन्य ९ जनाको भने वीरगन्जकै नारायणी बयोधा अस्पतालमा उपचार गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here