पुष्पराज खतिवडा
मनहर्वा,खरले छाएका गुजमुज्ज पारेर बनाइएका छाप्राहरु, आँगनीमा सुँगुरको खोर, घर वरिपरी फोहोरको थुप्रा, मैला र दुब्ला मान्छेहरु । बाराको महागढीमाई नगरपालिका वडा नम्बर २ बरियारपुरस्थित भिन्सिया दलित बस्तिको केही वर्षअघिको चित्र हो यो ।रोग, भोक र अभावले जकडिएको ४६ घरधुरी दलित परिवारको बसोबास रहेको यो वस्ती जहाँ स्वास्थ्य, शिक्षा, रोजगारीको सुविधाले प्रवेश नै पाएको थिएन । बस्तिका अधिकांश बालबालिकाले दुई÷चार कक्षाभन्दा बढीको पढाइ पुरा गर्न नपाउदै आमाबाबु बन्नुपर्ने अवस्था थियो ।

तर सोही बस्तिको अवस्था अहिले फेरिएको छ । चर्पीमा दिशा पिसाव गर्ने, स्नान घरमा दिनहुँ नुहाउने, बालबालिकालाई स्कुल पठाउने जस्ता कार्य अब उनीहरुको दिनचर्या बनेको छ । साथै समय समयमा उपयोगी तालिममा भाग लिँदै पुखौली व्यवसायबाट आम्दानी गर्न थालेपछि दलित बस्तिका अधिकांशको जीवनशैली केही वर्षयता फेरिएको हो ।पहिला १०-१५ दिनमा नुहाउने यहाँका महिलाहरुले हिजोआज दैनिक रुपमा नुहाईधुहाईसँगै पुजापाठ गर्न थालेका छन् । स्थानीय ६८ वर्षिय सुरपती देवी पास्वानले नियमित नुहाउन थालेको करिब एक वर्ष भएको बताउनुभयो । यसअघि उहाँलाई नुहाउन खोला वा खुल्ला ठाउँका धारामा जानुपर्ने बाध्यता थियो । ‘छोरामान्छे त जहाँ जतिबेला जहाँ गएर पनि नुहाउँथे तर महिलालाई गाहे हुन्थ्यो, सुनरपतीले सुनाउनुभयो, अहिले गाउँमा सार्वजनिक स्नानघर बनेपछि महिलालाई पनि नुहाउन र सरसफाइ गर्न सजिलो भएको छ ।’ ‘अब त हामी पनि निर्धक्कले दिनहुँ नुहाउँछौं र पूजापाठ पनि गछौं ।’ सुनरपतीले खुशी हुँदै भन्नुभयो ।
१ सय७ ० फिटको खानेपानी धारासँगै स्नानघर बनेपछि यहाँका महिला सफासुघ्र बन्न थालेका छन् । सामान्यता कपडा लगाएरै नुहाउनु पर्ने यहाँका महिलालाई स्नानघर बनेपछि ठुलो राहत पुगेको छ । दैनिक नुहाएर सफासुग्गर हुन थालेपछि विभिन्न रोगब्यादी कम भएको बस्तिकी अर्की स्थानीय पुनकलीदेवी पास्वानले सुनाउनुभयो ।

पहिला पहिला खेत खलिहान जथाभावी दिशा पिसाब गर्ने उनीहरुको घरमा समेत नयाँ खानेपानी धारा र चर्पी पनि बनेको छ । योसँगै उनीहरुले गर्दै आएको बाँसका सामाग्री दौराछैंटी, भकारी बनाउने पूखौली व्यवसायमा विस्तार भएको छ ।
५० हजार रुपैंयाको बाँस र आवश्यक औजार पाएपछि व्यवसाय विस्तारसँगै उनीहरुको आम्दानी पनि वृद्धि भएको हो । बाँसका सामाग्री बनाएर हिजोआज दैनिक एक हजार पाँच सय रुपैया कमाउँने गरेको अर्का स्थानीय मदन मल्लीले बताउनुभयो । उहाँका ४ छोरा मध्ये जेठा छोरा १० कक्षामा पढ्छन् भने अरु छोराहरु पनि स्कुल जान थालेका छन् ।
आफुले एक कक्षा नपढे पनि छोराहरुलाई पढाएर जागिरे बनाउने सपना बुनेको मदनले सुनाउनुभयो ।

उनीसँगै स्थानीय ७ वटा डोम परिवारलाई बाँसका सामाग्री बनाउने पुख्यौली व्यवसाय गर्न इस्लामीक रिलिफ (क्यानडा) वल्ड वाईडको सहयोगमा जनजागरण यूवा क्लब बाराले संचालन गर्दै आएको सामुदायिक उत्थानशिलता सुदृढीकरण परियोजनाले सहयोग गरेको छ ।परियोजनाको सहयोगसँगै दलित बस्तिका मानिसहरुको जीवनशैली फेरिएको हो । परियोजनाले यहाँका दलितहरुका लागि खाद्य सुरक्षा, जलवायू मैत्री खेतीपाती, खानेपानी तथा सरसफाइ र संरक्षणको क्षेत्रमा काम गर्दै आएको जनजागणर यूवा क्लबका अध्यक्ष भैयाराम यादवले बताउनुभयो ।

उहाँका अनुसार परियोजनाले जिल्लाको महागढीमाई नगरपालिकाका वडा नम्बर १,२ र ८ तथा सुवर्ण गाउँपालिकाका १, ५, ६ र ८ नम्बर वडाहरु दलित, विपन्न र गरिबका ४ सय परिवारमा काम गर्दै आएको छ ।दलित समुदायको जीवनशैली परिवर्तनसँगै आयआर्जन वृद्धिका लागि परियोजनाले काम गर्दै आएको यादवले बताउनुभयो । संस्थाले विभिन्न टोलमा १७३ वटा खानेपानी धारा, ४४ वटा शौचालय र १५ वटा सार्वजनिक स्नानघर बनाईदिएको छ ।

योसँगै परियोजनाले कुटो कोदालो खुर्पी, अन्नबाली तथा तरकारीका बिउ वितरण, अर्गानिक उत्पादन सम्बन्धी तालिम दिनुका साथै २८ वटा बोरिंग किसानको खेतमा गाडिदिएको छ । रसायकि मल र विषादीको प्रयोगलाई कम गर्ने उपाय सिकाउने कार्यसमेत गर्दै आएको उहाँले बताउनुभयो ।‘११६ परिवारलाई बाख्रा पालनमा सहयोग गरेको छ । १८४ परिवारले किराना पसल, पार्चुन पसल, खाजा नास्ता होटल लगायत साना व्यवसाय गर्दै आएका छन् । ७६ जना हिंसा पीडितहरुलाई साना व्यवसाय र बाख्रा पालनबाट आयआर्जनमा जोडिएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here