कलैया,नेपाली कांग्रेस बारामा पटक पटक स्थगित हुदै आएको वडा अधिवेशन सोमबार हुने भएको छ । निजगढसहित जिल्लाका १६ वटा पालिकाका वडाहरुमा सोमबार अधिवेशन हुने भएको हो ।
अधिवेशनको लागि जिल्लामा खटेका निर्वाचन अधिकृत राजेन्द्रप्रसाद दहालले आवश्यक तयारी गर्न नभ्याएको भन्दै केन्द्रीय तालिका अनुसार शनिबारको लागि निर्धारण गरिएको वडा अधिवेशन सोमबारसम्मलाई स्थगित गर्नु भएको थियो ।
निजगढका केही वडाहरुमा भने आन्तरिक रुपमा सर्वसम्मत नेतृत्व चयन भइसकेको पनि बताइएको छ । सर्वसम्मत भएका वडाहरुलाई सोमबार नै निर्वाचन अधिकृतको कार्यालयमार्फत औपचारिकता दिइने । निजगढ काग्रेश स्रोतका अनुसार वडा नम्बर ४, ७, ८ र ९ नम्बर बाहेक अन्य सबै वडामा वडा सभापति र क्षेत्रीय प्रतिनिधिको छनौट कार्य आन्तरिक रुपमा पुरा भएको छ । वडा नम्बर २, ३, ५, ६, ११, १२ र १३ मा संस्थापन पक्षका सभापति सर्वसम्मत हुने भएका छन ।
काग्रेशले वडा अधिवेशनमार्फत वडा सभापति सहित प्रतेक वडाबाट १६ जना क्षेत्रीय प्रतिनिधि चयन गर्न लागेको हो । १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सकिएपछि कात्तिक ३० गते पालिका अधिवेशन हुनेछ ।
‘शिक्षकलाई खटाउनु बाध्यता,’ सभापती चौरसिया
बिदुर खडका,डुमरवाना,वडा अधिवेशनमा निर्वाचन अधिकृतको रुपमा शिक्षकहरुलाई खटाइएपछि स्थानीय अभिभावकहरु भने असन्तुष्ट देखिएका छन । सत्तारुढ नेपाली काग्रेशले पार्टी निकट सरकारी दरबन्दीका शिक्षकहरुलाई अधिवेशनमा खटाएको छ । शिक्षकहरुलाई बाध्यताबस चुनावको लागि खटाउनु परेको कांग्रेस बाराका सभापती जयचन्द चौरसियाले बताउनुभएको छ ।
काग्रेश बाराले वडा अधिवेशन सम्पन्न गर्न सामुदायिक विद्यालयका शिक्षकहरुलाई जिम्मा दिएको छ । तर निर्वाचनको लागि खटेका शिक्षकहरुले समयमै काम गर्न नसकेपछि तोकिएको समयमा अधिवेशन हुन नसकेर पटक पटक स्थागित हुदै आएको छ ।
लामो समयदेखिको कोरोना महामारीको प्रकोप र चाठपर्वमा दिइने विदामा विद्यार्थीको पठनपाठन प्रभावित हुदै आएको र अहिले फेरि विद्यालयका शिक्षकलाई पार्टीको काम खटाइएपछि पठनपाठन थप प्रभावित हुने सिमराका एक अभिभावकले बताए । उनले कुनै पनि राजनीतिक दलले विद्यालयको पठनपाठन नै प्रभावित हुने गरी शिक्षकलाई पार्टी कामको जिम्मा लगाउन नहुने बताए ।
सत्तारुढ नेपाली काग्रेशले पार्टी निकट रहेका सरकारी दरबन्दीका करिव २ सय शिक्षकहरुलाई अधिवेशनमा निर्वाचन अधिकृतको रुपमा खटाएको हो । उता नेकपा एमाले निकट शिक्षक संगठनका अध्यक्ष अनिल मैनालीले राजनीतिमा शिक्षकको महत्व बढी हुने भएकाले राजनीतिक दलहरुले शिक्षकलाई उपयोग गर्ने गरेको बताउनुभयो ।