निजगढ,निजगढ नगरपालिका वडा नम्बर ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठन अनिश्चित बनेको छ ।समिति गठन गर्न भनेर बिहीवारको लागि बोलाइएको अभिभावक भेला स्थगित भएपछि समिति गठन कार्य पनि अनिश्चित बन्दै गएको हो ।निजगढ नगरकार्यपालिकाले ६ महिनाअघि वडा अध्यक्ष स्वर्ण लामाको अध्यक्षतामा गठन गरेको सर्वदलीय समितिको म्याद सकिएपछि नयाँ समिति गठनको लागि विद्यालयले गत मंगलवार बोलाएको भेलामा कुनै निर्णय हुन नसकेपछि अर्को भेला बोलाइएको थियो । समहतिको लागि भन्दै आगामी सोमवार फेरि अर्को भेला बोलाइएको विद्यालय प्रशासनले जनाएको छ ।यसअघि पटकपटक भएको अभिभावक भेलाले नयाँ समिति चयन गर्न नसकेपछि नगरपालिकाले अभिभावक भेलाबाट नयाँ समिति गठन र विद्यालयका अन्य अत्यावश्यक काम संचालन गर्न भनेर गत मंसिर २८ गते वडा अध्यक्ष लामाको अध्यक्षतामा समिति गठन गरेको थियो ।अभिभावक भेलाबाट नयाँ समिति गठन गर्न नपाउदै समितिको म्याद सकिएपछि भेला डाकिएको थियो । भेलामा अभिभावहरु मध्येबाट चयन गरिनुपर्ने ४ जना सदस्यहरुको लागि स्थानीय राजनीतिक दलको तर्फबाट ५ दर्जनभन्दा बढीले दाबेदारी पेस गरेपछि सहमति हुन नसकेको हो ।नेकपा एमाले, नेपाली कांग्रेश, माओवादी केन्द्र, राप्रपा, रास्वपा र जनमत पार्टीका कार्यकर्ताहरुले आफू निकटलाई सदस्यको लागि अघि सारेका थिए । अभिभावकहरुको तर्फबाट पनि केहीले सदस्य पदमा स्वतस्फुर्त दाबी पेस गरेका छन । सबै दलले समितिमा आफू निकटका मानिस चयन हुनुपर्ने अडान लिदै आएका छन ।विद्यालय व्यवस्थापन समिति गठनमा राजनीतिक दलका कार्यकर्ताहरुको अडानले समिति गठन हुन नसकेको अभिभावकहरुको भनाइ छ । दलीय सहमति हुन नसक्दा वर्षौदेखि विद्यालय व्यवस्थापन समिति बिहीन हुन पुगेको र पठनपाठन तथा अन्य क्रियाकलामा समेत प्रभाव पर्दैआएको उनीहरुले गुनासो गरेका छन ।एकजना अध्यक्ष सहित ९ सदस्यीय समितिको लागि अभिभावकहरु मध्येबाट प्रारम्भिक चरणमा ४ जना सदस्य चयन गर्नुपर्ने शिक्षा नियमावलीले व्यवस्था गरेको छ । तिनै सदस्यहरुले बैठक बसेर थप २ जना सदस्य मनोनीत गर्ने नियमावलीमा प्रवन्ध छ । व्यवस्थापन समितिमा सम्बन्धित वडाका वडा अध्यक्ष पदेन सदस्य, विद्यालयका प्रधानाध्यापक सदस्य सचिव र शिक्षकहरु मध्येबाट प्रतिनिधिको रुपमा समितिमा एक जना सदस्य रहने छन ।

Leave a Reply