पुष्पराज खतिवडा
मनहर्वा,
स्थानीय किसानको उजुरीपछि सरकारी टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर २४ मा रहेको जयमाता दि क्रसर उद्योगले किसानको खेतबारीमा पु¥याएको क्षेतिको अनुगमन गरेको छ । बिहिबार घरेलु तथा साना उद्योग कार्यालयका प्रमुखको अगुवाइमा आएको सरकारी टोलीले क्रसर उद्योग र उद्योगबाट निस्किएको लेदो माटो र बालुवाले किसानको खेतबारी र बालीमा क्षेति गरेको ठहर गरेको छ ।
अनुगमन टोलीका सदस्य जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकस्य अधिकृत मुरारी कार्कीले उद्योगले किसानलाई समस्या पारेको देखिएको बताउनुभयो । ‘उद्योगले लेदो र बालुवा सहितको पानीको उचित व्यवस्थापन गर्न नसकेको पाइयो, व्यक्तिगत व्यवसाय गर्दा अर्कालाई मार्कामा पार्नु गलत हो ।’ कार्कीले भन्नुभयो– ‘फोहर पानीको व्यवस्थापन बिना नै क्रसर उद्योग संचालनमा ल्याएको रहेछ, उद्योगबाट निस्किएको लेदो र बालुवाले हाल उद्योगबाट ५ सय मिटर आसपासका खेतबारीमा समस्या बनाएको छ ।’ उहाँले समस्याको समयमै समाधान नगर्ने हो भने थप जोखिम बढ्ने खतरा रहेको पनि बताउनुभयो । मापदण्ड र सार्वजनिक सरोकारलाई ख्याल नगरी उद्योग संचालनमा रहेको पाइएको कार्कीले बताउनुभयो ।
यस्तै घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रमुख अरविन्द यादवले पनि उद्योगबाट किसान समस्यमा परेको देखिएको बताउनुभयो । ‘सोही अनुसार रिर्पोट बनाएर पठाउँछौं, उहाँले भन्नुभयो, थप प्रकृया जिल्ला प्रशासन कार्यालयले पुरा गर्ने छ ।’ अनुगमन टोलीका प्रमुख समेत रहनु भएका घरेलु तथा साना उद्योग प्रमुख यादवले स्थानीय किसानहरुबाट क्रसरको विरुद्ध परेको उजुरीका विषयमा जिल्ला प्रशासन कार्यालय बाराको आदेशमा अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो । अनुगमन टोलीमा घरेलु तथा साना उद्योग प्रमुख यादव, प्रशासकीय अधिकृत कार्कीसहित कलैया उपमहानगरपालिकाको वातावरण शाखाका प्रमुख रामजी साह, घरेलु तथा साना उद्योग सुब्वा अमोद यादव लगायतको सहभागिता थियो । अनुगमनको क्रममा टोलीले स्थानीय पीडित किसान र जनप्रतिनिधिहरुसँग समेत छलफल गरेको थियो ।
पीडित स्थानीयले भने कुनै पनि शर्तमा क्रसर संचालन गर्न नदिने बताउँदै आएका छन् । आफुहरुले तत्काल सो स्थानबाट क्रसर उद्योग हटाउनु पर्ने माग राखेको स्थानीय प्रेमलाल यादवले बताउनुभयो । क्रसर उद्योगबाट निस्किएको बालुवा र लेदो पनीले खेत पुरेपछि किसानले एक साताअघि क्रसर घेराउसमेत गरेका थिए । त्यसैगरी उनीहरुले क्रसरविरुद्ध गत साता जिल्ला प्रशासन सहित आधा दर्जन सरकारी निकायमा उजुरी गरेको यादवले बताउनुभयो । उद्योगको फोहर पानी, लेदो र बालुवालाई पोखरी बनाएर व्यवस्थापन गर्न असार मसान्तसम्मको समय दिन उद्योग संचालक शिवनाथ पटेलले माग गर्नुभएको छ । उद्योग संचालक पटेलले किसानको समस्याप्रति आफुहरु गम्भीर रहेको पनि बताउनुभयो ।