सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आइतवारदेखि सिभिल इन्जिनियरिङ कक्षा संचालनमा आएको छ । विद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले कक्षाको आररम्भ गर्नुभएको हो ।प्राविधिक शिक्षाको आरम्भ कार्यक्रममा बोल्दै प्रमुख पौडेलले दक्ष जनशक्ति उत्पादन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । दक्ष जनशक्ति उत्पादन हुनसके उपमहानगरको विकास निर्माणलगायतको कार्यमा उपयोगी हुने पौडेलको भनाई थियो । नगर प्रमुख पौडेलले अस्तव्यस्त अवस्थाको रुपमा रहेको विकास निर्माणको कार्यमा समेत सुधार हुनसक्ने बताउनुभयो । प्राविधिक र विज्ञ जनशक्तिको प्रयोग नभएका कारण हाल भईरहेको विकास निर्माणको कार्य सन्तोषजनक नरहेको पनि पौडेलले बताउनुभएको छ । उहाँले प्राविधिक शिक्षालयबाट उत्पादन हुने जनशक्तिलाई यसै उपमहानगरसहित अन्य क्षेत्रको विकास निर्माणका सक्रिय रहेका निर्माण कम्पनीले प्रयोग गर्नसक्ने पौडेलको भनाई थियो ।कार्यक्रममा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले प्राविधिक शिक्षालय संचालन हुनु गौरवको विषय रहेको भन्दै उपमहानगरपालिकाले सहयोग गर्ने बताउनुभयो । आफू गाविस अध्यक्ष भएका बेला पथलैयाको शिक्षा क्षेत्रको विकासका लागि काम गरेको बताउदै अधिकारीले आगामी दिनमा पनि आफू प्रतिवद्ध रहेको बताउनुभयो ।प्राविधिक कक्षा प्रारम्भ भएसंगै विद्यालयमा ९ देखि १२ कक्षासम्मका विद्यार्थीले सिभिल इन्जिनियरिङको कक्षामा अध्ययन गर्नसक्ने विद्यालयका प्रध्यानाध्यापक शम्भु मण्डलले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्याण आलेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण शिक्षक रुवन थापाले गर्नुभएको थियो ।

Leave a Reply