बसन्त लामा

सिंगौल,निजगढ नगरपालिकाको सिंगौलमा निर्माणाधिन झोलुङगे अलपत्र भएको छ ।नगरपालिकाको वडा नम्बर १ स्थित धनसार खोलाको भालुघाट झोलुङगे पुलको १५ प्रतिशत काम पनि पुरा नहुदै निर्माण कार्य रोकिएपछि पुल अलपत्र परेको हो । पुलको निर्माण कार्य रोकिएपछि विद्यालयमा अध्ययन गर्न आउने बालबालिका र स्थानीयबासिन्दा मार्कामा परेका छन । दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी गत मंसिरदेखि निर्माण कार्य अघि बढाइएको थियो । सो झोलुङगे पुल निजगढ नगरपालिका र हेल्पटाँसको सहकार्यमा निर्माण सुरु गरिएको ईन्जिनियर ओमप्रकास चौधरीले बताउँनुभयो । पुल निर्माणका लागि कुल १ करोड २७ लाख विनियोजन भएको हालसम्म २५ लाख रुपैयाँ भुक्तानी गरिएको इन्जिनियर चौधरीले जानकारी दिनुभयो । निर्माणाधिन झोलुङगे पुलको लम्बाई ११९.८० मिटर र चौडा १.५ मिटर हुने उहाँको भनाइ छ ।उक्त क्षेत्रममा पुल नहुँदा वर्षातको समयमा सिंगौलका स्थानीय र छिमेकी जिल्ला रौतहट चन्द्रपुरनगरपालिका वडा नम्बर ३ अरुण बस्ती, भालुखोप, पुरानो नर्सरी, इपिल बस्तीलगायत मकवानपुरका बासिन्दाले जोखिम मोलेर खोला तर्ने गरेका छन । सोही समस्यालाई मध्यनजर गर्दै सिंगौल र चन्द्रपुरका समाजसेवी, राजनीतिक दल र वडा नम्बर १ को पहलमा निजगढ नगरपालिका र हेल्पटाँसको सहकार्यमा पुल निर्माण सुरु गरिएको स्थानीयको भनाइ छ ।पुल नहुँदा रौतहट र सिंगौलका स्थानीयसंगै सो क्षेत्रबाट सिंगौलको विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीले धेरै समस्या झेल्नु परिरहेको छ ।नगरपालिकाको वडा नम्बर १ मा रहेको नेपाल राष्ट्रिय उच्चमाध्यामिक विद्यालयमा सिंगौलमा ६० प्रतिशतभन्दा बढी विद्यार्थी खोला तरेर आउने गरेका छन । वर्षामा खोलामा बाढी आउन थालेपछि विद्यालयमा विद्यार्थी पनि कम आउने विद्यालयका लेखा शाखा प्रमुख रामहरी अधिकारीले जानकारी दिनुभयो ।विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्न पनि धनसार खोलाको पुल तत्काल निर्माण कार्य सम्पन्न गर्नुपर्ने स्थानीयको भनाइ छ । धनसार खोलामा पुल निर्माण होला र असार साउनमा खोलामा बाढी आउँदा पनि सहज रुपमा आवतजावत गर्न पाइएला भन्ने आशामा बसेका स्थानीय निर्माण कार्य रोकिएपछि निराश बनेका छन ।खोलामा आउने बाढीले गाउँका बालबालिकाहरुलाई स्कुल जान बाधा परेकोले विद्यार्थीको सहजताको लागि झोलुङगे पुल निर्माण सुरु गरिएको निर्माण समितिका अध्यक्ष कान्छालाल थोकरले बताउँनुभयो । तर पुल निर्माणमा हुदै आएको ढिलासुस्तिले विद्यार्थी र अभिभावकहरुको समस्या जस्ताकोत्यस्तै रहेको थोकरको भनाइ छ ।

Leave a Reply