सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा वितरण गरिने छात्रवृत्तिको विवरणलाई पारदर्शी बनाउन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाराले माग गरेको छ ।अनेरास्ववियुको केन्द्रीय कमिटीको निर्देशन अनुसार बाराले जिल्लाको सबै तहका स्थानीय तहसंग छात्रवृति वितरणको अवस्थालाई पारदर्शी बनाउन माग गरेको हो ।केन्द्रीय निर्देशन कार्यान्यवनका सिलसिलामा जिल्ला अध्यक्ष सम्राट खनालको नेतृत्वको टोलीले सोमवार जीतपुरसिमरा उपमहानगरपालिका पुगेको अरेरास्ववियुको टोलीले नगर प्रमुख राजन पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।नगर प्रमुख पौडेललाई पत्र बुझाउदै अनेरास्ववियुले सामुदायिक विद्यालयबाट छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको विवरण उपलब्ध गराउन र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको विवरण विद्यालय भवनको भित्तामा राख्न अनुरोध गरेको छ ।सामुदायिक विद्यालय सुधारका निम्ति अनेरास्ववियुले एक विद्यालयमा महिनामा एक स्वयंसेवक शिक्षक बनेर जाने र विद्यालयमा रहेका कमीकमजोरी सुधारका लागि पहल गर्ने केन्द्रीय निर्णय भएअनुसार उक्त अभियानमा सहजीकरण गर्न नगर प्रमुख पौडेलसंग अनेरास्ववियुले माग गरेको छ ।पत्र बुझाउने क्रममा अनेरास्ववियु मधेस प्रदेश त्रिलोकविक्रम शाह, केन्द्रीय सदस्य लक्ष्मी तिमिल्सिना, केन्द्रीय सदस्य मनिष प्याकुरेल, जिल्ला उपसचिव निर्जल घिमिरे, जीतपुरसिमरा नगर कमिटी अध्यक्ष इश्वर बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply