वीरगन्ज,२० मंसिर ।
प्रत्यक्षतर्फको अन्तिम नतिजा र समानुपातिकतर्फको सम्भावित सिट संख्या स्पष्ट भएसंगै मधेस प्रदेशमा नयां मुख्यमन्त्रीका लागि कसरत सुरु भएको छ ।यो कसरतमा नेपाली कांग्रेस पर्साका सभापति समेत रहेका नवनिर्वाचित प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्र पनि लागेका छन् ।

मधेस प्रदेशमा समानुपातिकतर्फको सिट बांडफांट नटुंगिए कांग्रेस नेतृत्वकै सरकार बन्ने प्रबल सम्भावना छ । त्यसो हुदा मुख्यमन्त्रीमा क्षेत्रीको प्रबल सम्भावना रहेको चर्चा चल्न थालेको छ ।
मधेस प्रदेशमा प्रत्यक्षतर्फका ६४ सिटमध्ये एमालेले १५, कांग्रेसले १३, जसपाले ९, लोसपाले ७, जनमत पार्टीले ६, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ४–४ सिट जितेका छन् । विभिन्न दलबाट बागी उठेका ६ जनाले स्वतन्त्र रूपमा जितेका छन् । प्रत्यक्षतर्फ २९ सिट जितेको कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले समानुपातिकतर्फ करिब २० सिट ल्याउने आकलन गरिएको छ ।

प्रत्यक्षतर्फ २२ सिट जितेको एमाले–जसपा–राप्रपा गठबन्धनले समानुपातिकमा १९ सिट पाउने आकलन गरिएको छ । त्यसैगरी प्रत्यक्षतर्फ ६ सिट जितेको जनमत पार्टीले समानुपातिकमा करिब ४ सिट पाउने देखिन्छ । यसरी हेर्दा प्रदेशसभाको सत्ता समीकरणको अंकगणित मिलाउन जनमत पार्टीको सिट संख्या निर्णायक हुने देखिन्छ ।

उसले सरकार गठनमा कांग्रेस नेतृत्वकै गठबन्धनलाई साथ दिने प्रबल सम्भावना पनि देखिएको छ । एमाले र जसपा सहकार्यले निरन्तरता नपाउने अवस्थामा मधेसको सत्ता समीकरण सत्ता गठबन्धनकै पक्षमा हुने आकलन गरिएको छ ।

सत्ता गठबन्धनको सरकार बन्ने अवस्था आएमा मुख्यमन्त्रीका लागि कांग्रेस पर्साका सभापति क्षेत्री प्रमुख दाबेदार देखिएका छन् ।कांग्रेसबाट क्षेत्रीसंगै रौतहट १ (२) बाट निर्वाचित कांग्रेसका प्रदेश सभापति कृष्णप्रसाद यादव र धनुषाबाट निर्र्वाचित पूर्वमन्त्री रामसरोज यादव पनि दाबेदार देखिएका छन् । तर यी तीन मध्ये कांग्रेसबाट आफु नै प्रबल दाबेदार रहेको पर्सा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित क्षेत्री बताउछन् ।

क्षेत्रीले कांग्रेसबाट मुख्यमन्त्रीका लागि आफनो दाबेदारी रहेको बताए । उनले भने ,‘ पार्टीमा कृष्ण यादव जी म भन्दा जुनियर हो , पार्टीमा राजनीतिक लगानी र योगदानका साथै योग्यता सबैमा म उहा भन्दा सिनियर हो , रामसरोज जी भने मेरा समकक्षी हुनुहुन्छ ।

मुख्यमन्त्री बन्न पहिले पार्टीको संसदीय दलकाो नेता बन्नु पर्ने भएकाले यसका लागि आफुले पार्टीमा दाबेदारी प्रस्तुत गरिसकेको पनि क्षेत्रीले बताए

क्षेत्रीले भने ,‘ यस बारे मैले पार्टी सभापति ज्यसंग कुरा गरिसकेको छु , पार्टी नेतृत्व म प्रति निक्कै सकरात्मक पनि छ ।

उनले संसदीय दलको नेता र मुख्यमन्त्रीका लागि पार्टी भित्र आफनो पक्षमा माहौल पनि बन्दै गइरहेकोे बताए

यता जसपाले पनि अप्रत्याशीत रुपमा सत्ता गठबन्धनसंग निकटता बढाउंदै हालका मुख्यमन्त्री लालबाबु राउतलाई निरन्तरता दिने प्रयास गरेको छ । उता जनमत पार्टीले पनि मुख्यमन्त्रीमा आफनो दलको दाबी गरिरहेको खबरहरु पनि विभिन्न सन्चारमाध्यमबाट आइरहेको छ ।

Leave a Reply