निजगढ,निजगढ नगरपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रममा छनौट भएका १ सय ३० जना लाभग्राहीहरुलाई सोमवार एक कार्यक्रमबीच चेक हस्तान्तरण गरिएको छ ।निजगढ नगर प्रमुख सुरथ पुरी र उपप्रमुख श्री सोममाया थिङले कार्यक्रममा छनौट भएका प्रतिपरिवारलाई ४५ हजार रुपैयाका दरले आवास (घरको छाना) निर्माणको लागि चेक हस्तान्तरण गर्नुभएको हो ।सरकारले विपन्न नागरिकको घरमा सुरक्षित छाना हाल्ने कार्यक्रम अन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रम सन्चालन गर्दैआएको छ । सो कार्यक्रमअन्तर्गत खर, पराल, आसवेटस, बिटुमिन, ड्रम, खपटा वा यस्तै प्रकृतिका आगो, पानी तथा हुरीबाट सहजै प्रभावित हुनसक्ने अन्य सामग्रीबाट छाएका घरका छानालाई बिस्थापित गरी जस्तापाताको छाना लगाउने योजना छ ।कार्यक्रम अन्तर्गत निजगढमा छनौट भएका लाभग्राहीहरुलाई पहिलो किस्ता बापतको रकम उपलब्ध गराइएको हो । सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि, २०७५ बमोजिम जस्तापाताको छाना लगाएपछि प्राविधिकहरुको अनुगमन पश्चात दोश्रो किस्ता बापत थप ३० हजार रकम उपलब्ध गराइने बताइएको छ ।रकम हस्तान्तरण कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौला, वडा नम्बर ३ का वडा अध्यक्ष गोकुल तिमल्सिना, वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, वडा नम्बर ८ का वडा अध्यक्ष स्वर्ण लामा, वडा नम्बर ९ का. वडा अध्यक्ष रामचन्द्र कटुवाल, नगर कार्यपालिकाका सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।


















