वीरगन्ज,वीरगन्ज महानगरसहित पर्साका विभिन्न स्थानीय तहले गरेको सरुवाको विरोधमा सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । नेपाल शिक्षक महासंघ पर्साको आह्वानमा जिल्लाका विभिन्न स्थानीय तहका शिक्षकहरुले सोमबारदेखि सांकेतिक आन्दोलन सुरु गरेका हुन् ।पूर्व घोषित आन्दोलनको कार्यक्रमअन्तर्गत आइतबार पहिलो दिन जिल्लाका सम्पूर्ण विद्यालयमा कार्यरत प्रधानाध्यापक, शिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर सांकेतिक रुपमा विरोध प्रदर्शन गरेका थिए ।सोमबार पनि हातमा कालो पट्टि बाध्नुका साथै शिक्षकहरुले वीरगन्ज महानगरपालिकाको कार्यालयमा केहि घण्टाका लागि धर्ना पनि दिएका छन् । त्यस्तै मंगलबार पुनः वीरगन्ज महानगरपालिका कार्यालयअगाडि धर्ना बस्ने आन्दोलनको कार्यक्रम रहेको नेपाल शिक्षक महासंघले जनाएको छ ।मंगलबारको शान्तिपूर्ण धर्नाबाट पनि आफूहरुको माग सम्बोधन नभए धर्ना स्थलबाटै आन्दोलनको स्वरूप परिवर्तन गर्ने शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले चेतावनी दिनुभयो ।अध्यक्ष यादवकाअनुसार जिल्लाका स्थानीय तहहरुले विगत केही महिनादेखि प्रधानाध्यापक, शिक्षक, बालविकास कोटाका शिक्षक तथा विद्यालय कर्मचारीहरु समेतलाई विभिन्न पूर्वाग्रह, दुराग्रह, राजनैतिक आस्था, भेदभाव तथा व्यक्तिगत कुण्ठाको आधारमा थिचोमिचो गर्दैआएका छन् ।त्यसैगरी स्थानीय तह प्रमुखहरुले अनावश्यक रुपमा मानसिक यातना दिने, सरुवाको नाममा आतंक मचाउने, आफ्नो आसेपासेलाई मनोमानीरुपमा पद बाँड्ने, स्वेच्छाचारी रुपमा बढुवा घटुवा गर्दा शिक्षकहरुको मानमर्दन उहाँले आरोप लगाउनुभयो ।प्रचलित संघीय शिक्षा ऐन र नियमावली तथा स्थानीय ऐन नियमावलीको बरखिलाफ कुनै पनि शिक्षक वा विद्यालय कर्मचारीको सरुवा नगर्न, सरुवाको लागि नभई अर्थात कोही व्यक्ति विशेषको इच्छा, आकांक्षा, स्वार्थ अथवा राजनैतिक आवश्यक्ता पूर्तिको लागि दवावको भरमा सरुवा गर्ने कार्य नगर्न, शिक्षकलाई सम्मानित पेसाकर्मीको रुपमा राखी राख्नको लागि शिक्षकको मार्यादालाई उच्च बनाउन आवश्यक कार्यक्रम ल्याउन लगायतको माग राख्दै आफूहरु आन्दोलनमा उत्रिएको अध्यक्ष यादवको भनाइ छ ।

Leave a Reply