सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर उम्मेद्वारमा माओवादी केन्द्रकोतर्फबाट राजन पौडेलको नाम सिफारिस भएको छ । माओवादी केन्द्रको उपमहानगर कमिटीले नगर प्रमुखमा पौडेलेको नाम सिफारिस गरेको हो ।
पार्टीको केन्द्रिय कमिटीलाई समेत उपमहानगर कमिटीले गरेको निर्णयको बारेमा जानकारी गराएको माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रका जीतपुरसिमरा नगर कमिटी अध्यक्ष प्रेम बरालले नगरप्रमुखमा पौडेलको मात्रै नाम सिफारिस गरिएको जानकारी दिनुभयो । माओवादी केन्द्रमा उपमहानगर कमिटिले पठाएको नाम जिल्ला समन्वय समितिले प्रदेश कमिटिमा सिफारिस गर्ने प्रावधान छ ।
नगर प्रमुखका अन्य आकांक्षीहरु नगर कमिटीले छलफलका लागि बोलाएको बैठकमै नआएको स्रोतले जनाएको छ । सत्ता गठबन्धनले भागबण्डा गर्दा जीतपुरसिमराको मेयर माओवादीको भागमा परेको छ । तर केन्द्रीयस्तरमा भएको सहमति विपरीत नेपाली कांग्रेशका स्थानीय नेता कार्यकर्ताहरुले भने एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्ने दाबी गर्दै आएका छन ।
कांग्रेसले अन्य दलसंग तालमेल नगर्ने
जीतपुरसिमरा उपमहानगरपालिकामा नेपाली काग्रेसले सत्तारुढ गठबन्धनमा रहेका अन्य दलहरुसंग तालमेल नगर्ने भएको छ । कांग्रेश जीतपुरसिमराले केन्द्रीय गठबन्धनको निर्णयलाई अस्वीकार गर्दै मेयर र उपमेयर पदमा एक्लै चुनाव लडने निर्णय गरेको हो । केन्द्रीय गठबन्धनले नगर प्रमुख पद नेकपा माओवादी केन्द्रलाई दिने निर्णय गरेपछि रुष्ट देखिएको कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्ने बताएर आफ्नो चुनावी गतिविधि अघि बढाउन थालेको छ ।
सत्तारुढ गठबन्धन निर्णय विपरीत कांग्रेसले उपमहानगरपालिकामा पार्टीको तर्फबाट उम्मेदवार छनौंट कार्य अघि बढाएको छ । कांग्रेस नगर समितिकोे बैठकले प्रमुखमा ११ र उपप्रमुखमा १३ जनाको नाम सिफारिस गरेको हो । कांग्रेस नगर समितिको बैठकले प्रमुख र उपप्रमुखमा पार्टीको तर्फबाट आकांक्षीहरुको नाम माग गरेको र बैठकमा प्रमुख पदका लागि श्यामबाबु गुप्ता, कृष्णवर्त सिंह, नारायणी रायमाझी, शोभाकर पराजुली, ओमकृष्ण कार्की, सुमनकुमार भट्टराई, टिकाराम पौडेल, माधव उपाध्याय, रुद्र पौडेल, देवेन्द्र उपाध्याय र गंगा काफ्लेले आकांक्षा देखाएका छन् ।
यसैगरी उपप्रमुख पदको लागि गीता शर्मा, राधादेवी साह, मेघा शाही, रिता रिजाल, रामबाबु गुप्ता, छविलाल शर्मा, रेशम तिवारी, शरदचन्द्र भट्टराई, राजमणी बराल र श्यामबाबु सिंह भुमिहारले पार्टीको तर्फबाट उम्मेदवार बन्न आकांक्षी देखिएको बताइएको छ ।