हेटौंडा,बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडालाई बिहीवार बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । उपमहानगरपालिकाको ५६औँ स्थापना दिवस पारेर बालमैत्री नगर घोषणा गरिएको हो ।मकवानपुरका १० पालिकामध्ये मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिका यसअघि नै बालमैत्री पालिका घोषणा भइसकेका छन् । हेटौँडा भने जिल्लाको चौथो पालिकाको रूपमा बालमैत्री घोषणा भएको हो । बिहीवार एक समारोहकाबीच नेपाल सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले घोषणा गर्नुभएको हो ।

कार्यक्रमलाई संबोधन गर्दै उहाँले निकृष्ट बालश्रम, बालविवाह मुक्त र बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरेर मुलुकका अन्य पालिकाहरुलाई सकारात्मक सन्देश दिन हेटौंडा उपमहानगरपालिका सफल भएको बताउनुभयो ।
हेटौंडा उपहानगरपालिका ५ पिप्ले क्याम्पा रंगशालामा बिहीवार आयोजित कार्यक्रममा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गर्दै उपप्रधानमन्त्री सिंहले बालबालिका भविष्यका कर्णधार भएकाले हाम्रा व्यवहार बालमैत्री हुन जरुरी भएको बताउनुभयो । हेटौंडा उपमहानगर सम्भावना बोकेको पालिका भएकाले यसका गतिविधिहरु बालमैत्री हुन जरुरी रहेको उहाँको भनाई थियो ।

उहाँले बालमैत्री पालिका घोषणा गरेपछि अझ उपमहानगरपालिकाको जिम्मेवारी र दायित्व थपिएको बताउनुभयो । बिहीवार हेटौंडा उपमहानगरपालिकाको ५६औं स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा पालिकालाई बालमैत्री घोषणा गरिएको हो ।मुलुकभर ११वटा उपमहानगरपालिका छन् । बालमैत्री उपमहानगरपालिका घोषणा गरिएको हेटौडा पहिलो हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले बालमैत्री पालिका घोषणा गर्न उपमहानगरपालिकाले गरेका कामबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा वाग्मती प्रदेशका कावा मुख्यमन्त्री प्रकाश श्रेष्ठ, संघीय सांसद दीपकबहादुर सिंह, प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ, एकालाल श्रेष्ठ, प्रेमबहादुर पुलामीलगायतले बोलेका थिए ।कार्यक्रममा १९ वटै वडाका टोल विकास संस्था, ७ कक्षादेखि ९ कक्षासम्मका छात्रछात्रा, विभिन्न समुदायका बासिन्दा आ–आफ्ना भेषभुषा र झाँकीसहित ¥यालीमा सहभागी भएका थिए । हेटौंडाको बुद्धचौकबाट पिप्ले क्याम्पा रंगशालासम्म ¥याली निकालिएको थियो ।

Leave a Reply