हेटौँडा,कवि यश लामाको पहिलो कृति ‘बहिष्कृत आवाज’ कविता संग्रह शनिवार एक कार्यक्रमका बीच हेटौँडामा विमोचन गरिएको छ ।
बारा जिल्लाको निजगढ नगरपालिका– ७ का बासिन्दा लामाको पहिलो कृतिको रूपमा कविता सङ्ग्रह ‘बहिष्कृत आवाज’ सार्वजनिक भएको हो ।कविता सङ्ग्रहमा सामाजिक रूपमा पछाडि परेका, समाजबाट बहिष्कार भएका वर्गको आवाज कवितामार्फत प्रस्तुत गर्ने प्रयास गरिएको लेखक लामाको भनाई छ । कविता सङ्ग्रह छ वटा खण्डमा विभाजन गरिएको छ । विद्यालय जीवनदेखि नै कविता लेख्दै आउनुभएका लामाले करिब १० वर्ष अवधिमा लेखिएका ४५ वटा कवितालाई ‘बहिष्कृत आवाज’ मा समावेश गर्नुभएको छ ।
लामाको कृति साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो । लामाको ‘बहिष्कृत आवाज’ कविता सङ्ग्रहमाथि मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली र डा. रामजी रामले विमर्श गरेका हुन् ।विमर्श गर्दै डा.रामले कविले कविता मार्फत समाजको सचित्र वर्णन गर्न सफल भएको बताउनुभयो । त्यस्तै पालिका उपाध्यक्ष नेपालीले सरल, सामान्य र सबैले बुझ्न सक्ने गरी ल्याइएको कविता सङ्ग्रहको प्रशंसा गर्नुभएको थियो । जीवन, अनुभूति गर्न सक्नेगरी लेखिएको पुस्तकमा भोगाइलाई शब्दमार्फत व्याख्या गरिएकोमा धन्यवाद दिनुभयो ।कार्यक्रममा साहित्यकार निमेश निखिलले सामाजिक रूपमा पछाडि परेका वर्गको आवाज उजागर गरेको र किनारामा परेकालाई शब्द मार्फत उजार गरेको बताउनुभयो । लामाले लेखेको कविता साहित्यकारहरूले वाचन गर्नुभएको थियो ।