पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ बडहर्वाले स्थानीय ४२ जना किसानलाई सिँचाई सुविधाका लागि विद्युतीय मोटर वितरण गरेको छ ।“किसानको हात हाम्रो साथ” भन्ने अवधारणा अनुरुप वडाको ५ लाख रुपैँया चालु खर्च बजेटबाट खरिद गरि सो विद्युतीय मोटर वितरण गरिएको वडा अध्यक्ष चतुरबाबु वाग्लेले जानकारी दिनुभयो ।५० प्रतिशत अनुदानमा सिँचाई मोटर वितरणका लागि वडा कार्यालयले गत चैत्र २२ गते सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको थियो । नागरिकता, लालपूर्जा र कृषि मिटरको बिलको प्रतिलिपिसहित निवेदन दिन भनिएकोमा १ सय १५ जनाले मोटरका लागि दिवेदन दर्ता गराएका थिए । सोमवार उनीहरुकै सहभागितामा गोला प्रथा गरी ४२ जना छनौट गरि मोटर दिइएको उहाँले जानकारी दिनुभयो ।प्रतिथान २३ हजार रुपैयाँमा खरिद गरिएको २ हर्षपावरको सिँचाई मोटर उपभोक्ता किसानलाई ११ हजार पाँच सयमा प्रदान गरिएको हो ।मोटर वितरण कार्यक्रममा वडा अध्यक्ष वाग्लेसँगै वडा सदस्यहरु लक्ष्मीमाया बल, चेतबहादुर आले मगर, रन्दिर चौधरी, अदरी देवी चमईन, वडा सचिव सीमा उप्रेती लगायतको सहभागिता रहेको थियो ।



















