रौतहट,नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रभु साहविरुद्ध प्रहरी वृत्त, बानेश्वरमा ठाडो उजुरी परेको छ । विदेश पठाइदिने भन्दै लिएको पैसा फिर्ता नदिएको आरोप लगाउँदै प्रहरीमा उजुरी परेको हो ।

बानेश्वरका डीएसपी मिमबहादुर लामाका अनुसार ३० लाख लगेकोमा १० लाख फिर्ता गरेका र थप पैसा बाँकी रहेको बताउँदै उजुरी परेको छ । ‘ठाडो उजुरी मात्र परेकाले बुझ्ने काम गरिरहेका छौं’ लामाले भन्नुभयो, ‘उहाँ नेताज्यूको घरमा पनि जानुभएको रहेछ ।’

प्रहरीका अनुसार बाँसबारीकी दीपा कुँवर नामक महिलाले निवेदन दिनुभएको हो । सामान्ययता प्रहरीले ठाडो उजुरीमा दुवै पक्षलाई बोलाएर छलफल गराउने गर्छ । तर आरोपित भीआईपी भएकाले प्रहरीले पूर्वमन्त्रीलाई सोधपुछका लागि बोलाएको छैन । एक प्रहरी अधिकृत भन्छन्, ‘पैसा दिएको पुष्टि गर्ने आधारहरु पनि देखिएकाले उहाँलाई केही नभनेका हौं ।’

त्यसैगरी महिनौंसम्म चेक अनादरको जाहेरी लिएर जाँदा पनि जिल्ला प्रहरी कार्यालय पर्साले दर्ता गर्न अस्वीकार गरेको पीडितले आरोप लगाएका छन् । पर्सा प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ का ३७ वर्षीय महमद आरिफ देवानले विघटित प्रतिनिधिसभाका समानुपातिक सांसद चाँदतारा कुमारीविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर गर्नु परेको बताउनुभएको छ । सांसद ताराले आफ्नो छोरालाई क्यानडा पढाउन पठाउनको लागि रकमको आवश्यकता परेको भन्दै देवानको १२ लाख रूपैयाँ लिएको आरोप छ । एक महिनाभित्र रकम फर्काउने भने पनि पछि आफ्नो खातामा पैंसा नभएको थाहा पाएर पनि चेक काटेर दिएको देवानको भनाइ छ । त्यसरी बैंकिङ कसुर गरेको भन्दै देवान गत माघ मै जाहेरी लिएर कार्यालयमा पुग्नुभएको थियो तर प्रहरीले सांसदविरूद्ध जाहेरी लिन नमानेको र आलटाल मात्रै गरेको देवानले गुनासो गर्नुभयो । पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाले भने निषेधाज्ञाको कारण दर्ता गराउन नसकेको जिकिर गर्नुभयो । देवान र सांसद ताराबीच पहिले देखिनै चिनजान थियो । देवान १२ महिनाको लागि सांसदकी पिएसमेत भएको बुझिएको छ । यद्यपि पूर्वसांसद ताराले भने आफूले रकम लिएको र दिन तयार रहदा रहदा रहदै पनि आफ्नो मानहानी हुने काम भएको आरोप लगाउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here