काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिकूल स्वास्थ्य अवस्थाका कारण बिहीवारको संसद् बैठकमा सहभागी हुन नसकेको बताउनुभएको छ ।अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिनुभएको हो । उहाँले आजको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्ने बताए पनि उहाँ अनुपस्थित हुनुभएको थियो । ओलीले स्वास्थ्यमा सुधार आएपछि नक्कली शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरू संसदमा राख्ने पनि बताउनुभएको छ ।उहाँले लेख्नुभएको छ, ‘प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आज म संसद्को बैठकमा सहभागी हुन सकिनँ । नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरू संसद्समक्ष राख्ने मैले यसअघि बताएको थिएँ । स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसदमा बोल्ने नै छु ।’
अध्यक्ष ओलीले सभामुखले प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्री र सांसद्हरूबीच नागरिकका जल्दाबल्दा विषयमा प्रश्नोत्तरको नयाँ प्रचलन आजदेखि सुरु गर्नुभएकोबारे भन्नुभएको छ, ‘ठिक छ । प्रश्नहरू दुई किसिमका हुन्छन् । एकथरी प्रश्नको उत्तरमात्र दिए पुग्छ । देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तरमात्र दिएर पुग्दैन, नागरिकलाई अनुभूति हुने गरी परिणाम दिनुपर्छ । सांसद्हरूले संसदमा प्रश्न गर्दा प्रत्येक नागरिकले त्यसलाई आफ्नो प्रश्न ठान्न सकोस् र प्रधानमन्त्रीले दिएको उत्तरमा विश्वास र भरोसा गर्न सकोस् । त्यसले हरेक नागरिकले संसदमा आफैँ भएको महसुस गर्न पाउनेछन् । प्रश्नहरू औपचारिकतामात्रै नहोऊन् र उत्तरहरू ओठे प्रतिबद्धतामात्रै नहोऊन् ।’

Leave a Reply