वीरगन्ज,दुई वर्षसम्म पनि सडक निर्माण नभएपछि पीडित भएका स्थानीयले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियार, ठेकेदार हरिनारायण रौनियार र शहरी विकासका हाकिमको पुत्ला जलाएका छन । आइतबार वीरगन्ज महानगरपालिका वडा नं. २० अपौनी र हरपतगञ्जका बासिन्दाले पप्पुको अनियमितताकोे विरोध र दबाबका लागि भन्दै उनीहरुको पुत्ला जलाएका हुन् । सो वडाको सडकमा भेला भएका त्यहाँका स्थानीयले पप्पु, हरिनारायण र शहरी विकासका हाकिमको पुत्ला जलाउदैं उनीहरुको विरोधमा नाराबाजी समेत गरेका थिए ।
शहरी विकास कार्यलयको मातहतमा रहेको वीरगन्जको ड्राइपोर्टदेखि वीरगन्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीसम्म जोड्ने ३ किलोमिटर सडक २ वर्षमा निर्माणको ठेक्का सकारेको पप्पु कन्स्ट्रक्सनले हालसम्म पनि सो सडक नबनाएको स्थानीय बताउँछन् । जसका कारण सो गाउँका बासिन्दासँगै उक्त बाटो भएर आवतजावत गर्ने यात्रुहरुले सास्ती खेप्नु परिरहेको स्थानीयहरुले बताएका छन् । नेकपा एमालेका युवा नेता रामकिशोर सिंह (पराग) ले पप्पुले ३१ फिटे सडक निर्माण गर्ने भन्दै बाटोमा पर्ने घरहरु भत्काउन लगाएर अलपत्र छोडेको बताउनुभयो । २०७५ सालमा दुई वर्ष भित्रमा काम सक्ने गरी ठेक्का सकारेको पप्पु कन्स्ट्रक्सनले सो ठेक्का पेटी ठेक्का मार्फत अन्य ठेकेदारलाई दिएको छ । पप्पु कन्स्ट्रक्शनले जिम्मा दिएको पेटी ठेकेदारले काम नगरेको र आफुले दबाब दिँदा पप्पु कन्स्ट्रक्शनले रकम नदिएको हुँदा दुई ठेकेदारको विवाद अदालतसम्म पुगेको छ । सोही विवादलाई लिएर पेटी ठेकेदारले पप्पुले रकम नदिएको भन्दै गत कात्र्तिकमा नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलन नै गरेका थिए । यसअघि ठेक्का पाएको समयभित्र बाटो बनाउन बारमबार असफल हुने गरेको पप्पुले बाटो चाँडो नबनाएपछि पुत्ला जलाउन तयारी गरेका स्थानीयलाई रोक्न पुगेका पप्पु कन्स्ट्रक्सनका कर्मचारी र गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका थिए । घटनास्थलमा प्रहरी पुगेपछि स्थानीयले पप्पुका कर्मचारी र गाडीलाई छाडेका थिए ।