सिमरा,जीतपुरसिमरा बजनीमा आयोजना हुन लागेको महोत्सवको तयारी तीव्र पारिएको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघले पहिलोपटक आयोजना गर्न लागेको महोत्सवलाई भव्य र सभ्य बनाउन तयरी तीव्र पारेको हो ।
यसै अवसरमा आइतवार सरसफाइ गरिएको छ । कृषि पर्यटन, खेल उद्योग र व्यापार, जीतपुरसिमरा बारा–मधेश समृद्धिको आधार’ भन्ने मुल नारासहित आगामी फागुन १८ देखि सुरु हुन लागेको महोत्सव २९ फागुनसम्म चल्नेछ ।
यसै सन्दर्भमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन लामिछानेले दुईवटा होटलले स्टल बुकिंग गरिसकेको जानकारी दिनुभयो । विभिन्न समितिहरुको गठन गरी महोत्सवस्थल व्यवस्थापनको काम द्रुत गतिमा अघि बढेको आयोजकले बताएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर र सिमराको बीच भागमा पर्ने बजनीमा आयोजना गर्न लागिएकाले सबैलाई समेटेर काम गर्न सकिने आयोजकले विश्वास लिएको छ । उपमहानगरभित्र यसअघि विभिन्न सँघसंस्थाका नाममा मेला लाग्ने गरेको भएपनि नगर उद्योग वाणिज्य सँघको अगुवाइमा भने पहिलोपटक महोत्सव आयोजना हुन लागेको हो ।
व्यवसाय तथा व्यापार प्रवर्धनका लागि पनि महोत्सवले सहयोग पुर्याउने विश्वास लिइएको अध्यक्ष लामिछानेले बताउनुभएको छ । महोत्सवमा विभिन्न क्षेत्रका तीनसय बढी स्टल रहने बताइएको छ ।

















