निजगढ,जिल्ला प्रशासन कार्यालय कलैयाले निजगढ क्याम्पसको बुधवार हुने भनिएको चुनावी साधारण स्थगित गर्न निर्देशन दिएको छ ।प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले मंगलवार क्याम्पसलाई पत्र पठाएर सहमतिको आधारमा ७ दिनभित्र अर्को मिति तोकेर साधारण सभा गर्न भनेको हो ।प्रजिअ सापकोटाले हस्ताक्षर गरेर पठाएको पत्रमा निजगढका विभिन्न राजनीतिक दलसमेतबाट दर्ता हुन आएको ज्ञापन पत्रको आधारमा निजगढ नगरपालिका, नगरपालिकास्थित सबै राजनीतिक दल, बुद्धिजीवी, भद्रभलादमी र क्याम्पसका अभिभावकहरुको उपस्थितिमा छलफल गरी साधारण सभाको नया मिति तय गर्नुहुन अनुरोध गर्दछु भनिएको छ ।यसअघि मंगलवार नै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा र एकीकृत समाजवादी पार्टीका प्रतिनिधिहरुले क्याम्पसको नियमावली अलोकतान्त्रिक रहेको भन्दै नियमावली परिवर्तन गरेर मात्रै साधारण सभाको आयोजना हुनुपर्ने माग गरेर जिप्रका बारामा ज्ञापन पत्र बुझाएका थिए ।प्रजिअ सापकोटाले राजनीतिक दलका प्रतिनिधिहरुको मागअनुसार क्याम्पसको साधारण सभा रोक्न निर्देशन दिनुभएको हो । उता, क्याम्पस संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठले साधारण सभा स्थगित गर्न जिल्ला प्रशासन कार्यालयबाट आएको पत्र क्याम्पसको नियमावली विपरित भएको बताउनुभएको छ । उहाँले विधान अनुरुप आयोजना गर्न लागिएको रोक्नुपर्ने कुनै कारण नभएको पनि बताउनुभयो ।



















