सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाको क्षेत्रबाट उत्सर्जन हुने फोहोर अब वीरगञ्ज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (ल्याण्डफिल्ड साइट) मा विसर्जन गरिने भएको छ ।जीतपुरसिमरामा फोहोर व्यवस्थापन असहज बन्दै गएपछि उपमहानगरपालिकाको कार्यालयले फोहोर वीरगञ्ज लैजाने भएको हो ।फोहोर व्यवस्थापनका लागि मंगलवार जीतपुरसिमरा उपमहानगरपालिका र वीरगञ्ज महानगरपालिकाबीच पाँच बुँदे सम्झौता भएको छ ।सम्झौता पत्रमा जीतपुरसिमराका नगर प्रमुख राजन पौडेल र वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार जीतपुरसिमराले अब दैनिक उत्सर्जन हुने फोहोर व्यवस्थापनका लागि वीरगञ्जको नगवास्थित ल्याण्डफिल्ड साइट प्रयोग गर्नेछ । त्यसवापत जीतपुरसिमराले वीरगञ्ज महानगरपालिकाको कार्यालयलाई प्रतिमेट्रिकटन कर बाहेक एक हजार छ सय ५० रुपैया बुझाउनुपर्ने छ ।जीतपुरसिमराबाट हाल दैनिक ५ देखि ६ मेट्रिकटनसम्म फोहोर उत्सर्जन हुने गरेको छ । उक्त फोहोर व्यवस्थापनका लागि नगरभित्र उचित ल्याण्डफिल्ड साइट नहुँदा उपमहानगरपालिकाको कार्यालयलाई फोहोर व्यवस्थापन गर्न असहज भईरहेको थियो ।उपमहानगरपालिकाको कार्यालयले फोहोर व्यवस्थापनका लागि प्रयोग गर्दै आएको वडा नम्बर १ मा पर्ने दुधौरा खोलाको ल्याण्डफिल्ड साइटमा स्थानीयले अवरोध गरेपछि विकल्प खोजिएको हो ।दुधौराका स्थानीयले फोहोर विसर्जन गर्न नदिएपछि उपमहानगरपालिकाले वडा नम्बर ४ र वडा नम्बर १४ को सिमानामा पर्ने दुधौरा खोलामा फोहोर व्यवस्थापन गर्ने प्रयास गरेको थियो । उक्त स्थानमा पनि विरोध भएपछि उपमहानगरपालिकाले दोस्रो विकल्पमा वीरगञ्जमा फोहोर पठाउने भएको हो ।