निजगढ,निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराको बिमा रकम नपाएपछि पीडित किसान आन्दोलनमा उत्रिएका छन् । मंगलबार उनीहरू बीमा रकम माग गर्दै सडकमा उत्रिएका हुन ।
बीमाबापतको रकम माग गर्दै केरा उत्पादक तथा फलफूल व्यवसायी संघ निजगढमा आवद्ध किसानले निजगढ बजारमा प्रर्दशन गरेका हुन् । पटकपटक माग गर्दा पनि केराको बिमा रकम नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको केरा किसानको दुखोसो छ । उनीहरुले दुई दिनभित्रमा रकम प्राप्त नभए सडक आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । पटकपटक माग गर्दा पनि बीमा कम्पनीबाट किसानले पाउनुपर्ने रकम पाएका छैनन ।
कम्पनीले दशैंको मुखमा पनि रकम नदिएर किसानलाई समस्यामा परेको निजगढ ९ का केरा किसान साधुराम खरेलले बताउनुभयो । ‘हातमा रकम नहुदा किसानले दशै समेत मनाउन नपाउने अवस्था आयो, खरेलले भन्नुभयो, दुई दिनभित्रमा रकम प्राप्त नभए थप सशक्त रुपमा चरणवद्ध आन्दोलन गर्ने तयारी छ ।’
यस्तै बीमा रकम माग गर्दै संघका अध्यक्ष एकबहादुर श्रेष्ठको नेतृत्वमा रहेको निजगढका किसानहरुको अर्को टोली काठमाडौँ पुगेको छ । टोलीले आइतबार कृषिमन्त्री मृगेन्द्रकुमार सिंह र मन्त्रालयका सचिव गोविन्द शर्मासँग भेट गरेर किसानको बिमा रकम तत्काल उपलब्ध गराउन माग गरेको छ ।
तत्कालीन हिमालयन इन्स्योरेन्स कम्पनी हाल हिमाल एभरेष्ट इन्स्योरेन्समार्फत निजगढका किसानले केरा खेतीको बिमा गरेका थिए । निजगढका किसानहरुले कम्पनीसँग बीमाबापतको करिब ६ करोड रुपैया भुक्तानी लिन बाँकी छ । सम्झौताअनुसार बिमा कम्पनीले प्रतिकठ्ठा केराको क्षतिमा किसानलाई १४ हजारदेखि १५ हजार रुपैयासम्म क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ ।
गत वैशाखको दोस्रो हप्ता आएको हुरीले क्षति गरेपछि किसानहरुले सबै प्रकृया पूरा गरेर सोही समयमा बिमा रकम दाबी गरेका हुन । गत वैशाख १६ गते वर्षासँगै आएको हुरीले ५ करोडभन्दा बढी मूल्य बराबरको केरा खेती नष्ट गरेको थियो ।
स्थानीय किसानका निजगढमा करिब १२ सय बिघा केरा खेती गरिएकोमा करिब १२० बिघा जमिनमा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षति भएको छ । हुरीले भर्खर पसाएको र पाक्ने बेला भएको केरा सबैभन्दा बढी ढालेको किसानहरुले बताएका छन् ।
केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढमा एक बिघा जमिनमा किसानले एक सिजनमा ४ देखि ६ लाखसम्म आम्दानी लिँदै आएका थिए ।