कलैया,बारा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका वीरेन्द्र सर्राफको मृत्यु प्रकरणमा एक जनालाई नियन्त्रणमा लिएको छ ।प्रहरीले दिएको जानकारी अनुसार, वीरेन्द्रकी श्रीमती मनीषा देवीलाई सोधपुछका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बारामा ल्याइएको हो ।
बारा प्रहरीकाका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाले दिएको जानकारी अनुसार, वीरेन्द्र सर्राफको शव बिहीवार बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ स्थित गण्डक नहरको त्रिवेणी पुल नजिक फेला परेको थियो । उनी असोज २७ गतेदेखि बेपत्ता भएका थिए ।वीरेन्द्र सर्राफ भारत, रक्सौलका स्थायी बासिन्दा भए पनि हाल उनी वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयामा बस्दै आएका थिए । उनी केही दिन अगाडि डेरामासँगै बस्ने साथी विजय गुप्ता कलवारसँग मेला हेर्न बाराको मुसहर्वा गएका थिए । तर, डेरामा बस्दै आएका विजय गुप्ता हाल सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
विजय पनि भारतीय नागरिक नै रहेको बुझिएको छ । डिएसपी सापकोटाका अनुसार, वीरेन्द्रको हत्या भएको हो वा अन्य कारणले मृत्यु भएको भन्नेबारे अनुसन्धान भइरहेको छ । मृतकका भाइ सुरेन्द्र सर्राफले २६ गते विजयसँग विवाद भएको र २७ गते उनीहरू सँगै बाहिर निस्किएको बताएका छन् । सुरेन्द्रका अनुसार, विजयसँग सोधपुछ गर्दा उनले अकमकाएर प्रतिक्रिया दिएका थिए भने वीरेन्द्रकी श्रीमतीले विजयलाई जोगाउन खोजेको आरोप पनि लगाइएको छ ।सुरेन्द्रका अनुसार घटना भएको दिन वीरेन्द्रकी श्रीमती मनीषाले विजयलाई भगाएकी थिइन् । प्रहरीले भने हाल घटनाको गहन अनुसन्धान जारी रहेको जनाएको छ । प्रहरीले सम्पर्कविहीन विजय गुप्ता कलवारको खोजीलाई तीव्र बनाएको छ ।

















