काठमाण्डौ – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउनका लागि आउँदो आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिन सरकारसँग माग गर्नुभएको छ ।अध्यक्ष नेपालले निजगढ विमानस्थलको कामलाई अगाडि बढाउनका लागि सरकारले संसदमा पेस गरेको आउँदो आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा उल्लेख नगरिएको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति असन्तुष्टिसमेत व्यक्त गर्नुभयो ।मङ्गलवार सङ्घीय संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा उहाँले निगजढ विमानस्थलको महत्व अर्थमन्त्री महतले नबुझेको हो कि भनेर प्रश्नसमेत गर्नुभयो । देशको ‘गेम चेन्जर’ कार्यक्रमको रूपमा रहेको यो विमानस्थललाई अघि बढाउन संसदीय समितिहरूलाई पनि विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।उहाँले भन्नुभयो, ‘निजगढ विमानस्थलको कुरा कतै हराउने हो कि भन्ने मलाई शङ्का पनि, डर पनि लाग्न थालेको छ । पहिलेका प्रधानमन्त्रीजीलाई यो शिलान्याश गरौँ भनेर यो समितिले त्यहाँको अध्ययन गरेर बाधा, अवरोधहरूलाई पन्छाएर निजगढमा विमानस्थल बनाउन उपयुक्त हुन्छ भनेर निष्कर्षमा पुग्ने काम भएको थियो । अस्ति हाम्रो अर्थमन्त्रीजीले पेस गरेको कुरामा अनेक कुराहरू चर्चा गरिएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरालाई प्राथमिकताका साथ नाम उल्लेख गरेर अगाडि सारिएको छैन । अब यो महत्व नबुझेर हो कि, महत्व बुझाउनका लागि तथ्य, तथ्याङ्क, प्रमाण, विश्लेषणसमेत पेस गर्नुपर्ने हो कि ? थाहा भएन ।’अध्यक्ष नेपालले आफूले जति कोसिस गर्दा पनि यो विमानस्थलको काम अघि बढ्न नसकेको गुनासो गर्नुभयो । उहाँले ठूला शक्ति राष्ट्रहरूसँगको कुटनीतिक सम्बन्धलाई विशेष ख्याल गरेर अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आवश्यक निर्देशन सरकारलाई दिनुपर्ने बताउनुभयो ।

Leave a Reply