वीरगन्ज,वीरगन्ज महानगरपालिका पूर्णखोपयुक्त पालिका घोषणा भएको छ । नगरसभा गृहमा बिहीबार एक कार्यक्रमकाबीच प्रदेश २ कै पहिलो पालिकाको रुपमा वीरगन्ज महानगरपालिका पुर्णखोपयुक्त पालिका घोषणा भएको हो ।

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश २ का उर्जा तथा सिंचाइ मन्त्री ओमप्रकाश शर्माले वीरगन्ज महानगरपालिकार्लाइ पुर्णखोपयुक्त घोषणा गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले प्रदेश २ कै पहिलो पालिकाको रुपमा वीरगन्ज महानगरपालिका पुर्णखोप घोषणा भएकोमा हर्षित भएको बताउनुभयो । उहाँले महानगरपालिकालाई यो पुर्णखोपमा मात्र नभई कोरोना संक्रमणबाट जोगिनका लागि सबैभन्दा पहिले सबै नगरबासीलाई खोप लगाउन आग्रह गर्नुभयो ।

वीरगन्जमा जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई आवश्यक १२ प्रकारका सबै खोप लगाइ सकेपछि पुर्णखोप घोषणा गरिएको हो । पुर्णखोप घोषणाका लागि वीरगन्ज महानगरपालिकाको कार्यालयले केही समय पहिले महानगरका ३२ वटै वडामा १६ देखि २३ महिनासम्म उमेर समुहका बालबालिकाहरुको बारेमा २९ हजार १ सय ९३ घरधुरीमा सर्वे गरेको थियो । यस क्रममा १६ देखि २३ महिनासम्म उमेर समुहका बालबालिका २ हजार ६ सय ६१ जना भेटिएका थिए । ती मध्ये तोकिएको अवधिभित्र अर्थात जन्मदेखि १५ महिनाभित्रमा सबै १२ प्रकारका खोप लगाउने बालबालिकाको संख्या २ हजार ६६ जना मात्र थियो । ५ सय ८७ जना बालबालिकाले भने आवश्यक १२ प्रकारकामध्ये आंशिक मात्र खोप लगाएको भेटिएको थियो । ८ जना बालबालिकाले भने कुनै पनि प्रकारको खोप नलगाएको फेला परेको थियो । सर्वेपछि महानगरका ३२ वटै वडामा स्वास्थ्यकर्मी खटाएर खोप लगाउन छुटेका ५ सय ९५ जना बालबालिकालाई आवश्यक १२ प्रकारको खोप लगाइएको महानगरपालिकाका खोप अधिकृत रितेश जयसवालले जानकारी दिनुभयो । त्यसपछि ३२ वटै वडाहरुलाई क्रमश पूर्णखोप वडा पनि घोषणा गरिएको थियो । वीरगन्ज महानगरपालिकाका ३२ वटा वडामा रहेका ९९ वटा खोप केन्द्र र १ सय १० वटा खोप शेसनबाट खोप लगाउने काम हुँदै आएको थियो । यो कामका लागि ४६ जना स्वास्थ्यकर्मी खटाइएको थियो । पूर्णखोप घोषणा कार्यक्रममा वीरगन्ज महानगरपालिका कि उपप्रमुख शान्ति कार्की, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, लायन्स क्लबका पूर्वअध्यक्ष संजय खेतान, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल सिंह, वीरगन्ज महानगरपालिकाका स्वास्थ्य तथा समाजिक महाशाखा प्रमुख अरुण महतो लगायतकाले मन्तव्य राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here