पूर्वमाओवादीका नेता समेत रहेका र हालका निलम्वित एमालेका सचिव टोपबहादुर रायमाझी पनि अन्ततः प्रहरीको नियन्त्रणमा परेका छन् । नक्कली शरणार्थी प्रकरणमा मुछिएका रायमाझीलाई प्रहरीले आइतवार राति नियन्त्रणमा लिएसंगै थप केही नयाँ कुरा आउने आश पनि गरिएको छ र कानुनभन्दा ठूलो कोही छैन भन्ने पनि संदेश दिन खोजिएको छ । रायमाझी पक्राउ परे लगत्तै सामाजिक संजालमा एउटा भनाइ पनि अहिले भाइरल भएको देखिन्छ । उनले यो प्रकरणमा आफू मात्र नभइ सबै ठूला नेता समेत संलग्न रहेको भनेर बताएको कुराले सामाजिक संजाल तातेको हो ।यो विषयमा पनि सरकारले आम नागरिकहरुलाई स्पष्ट पार्न जरुरी छ । सरकारले रायमाझीको बोलेको विषयमा पनि सत्यतथ्य पत्ता लगाउनु पर्दछ । उनले यो बोलेको हो वा होइन त्यसमा पनि अनुसंधान होस् । यदि ठूलै नेता यसमा संलग्न रहेको भन्ने आयो भने पनि खुट्टा कमाउन हुन्न ।अहिले नागरिकहरुले सरकारलाई साथ दिएको अवस्था छ । स्वयम् प्रचण्डको नै संलग्नताको कुरा आयो भनेपनि उनले स्पष्ट पार्नुपर्दछ । अब यो विषयमा सरकारलाई यो वा त्यो कुरा गरेर उन्कने छुट छैन । सरकारले यो विषयमा अहिले आलटाल गरेको खण्डमा भने फेरि बर्तमान सरकार पनि नराम्रोसंग पतन हुनेछ । त्यसैले सरकारले यो प्रकरणमा कसैलाई पनि नछाड्ने गरी काम गर्नुपर्दछ ।


















