वीरगन्ज,नेकपा एकिकृत समाजवादी पार्टी (एस) का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणमा सरकारले चालेको कदमको सहना गर्नुभएको छ ।समाजवादी प्रेस संगठन नेपाल पर्साले सोमवार वीरगन्जस्थित होटल मकालुमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर अर्काे देशको नक्कली पहिचान बनाएर बिदेश पठाउने कामलाई राष्ट्रद्रोहीको संज्ञा दिनुभएको हो ।देशको मान, सम्मान र मर्यादामा आँच पु¥याउने भ्रष्टाचार प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘राजनीतिको आडमा ठगी खाने पेसा बनाउनेहरुलाई कुनै पनि हालतमा संरक्षण गर्नुहुँदैन, दण्डित गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘अहिलेसम्म सरकारले जुन कदम चालेको छ, एकदमै सह्रानीय छ । यही कामलाई निरन्तरता दिइयोस् । अन्तिम समयसम्म पनि सरकारले खुट्टा कमाउनु हुँदैन ।’नेपालको जस्तो सांस्कृतिक एवम् प्राकृतिक सम्भावना तथा वीरहरुको इतिहास बोकेको देशमा अत्यन्तै निन्दनीय काम गर्ने व्यक्तिहरु हुनु बिडम्बना भएको उहाँको बुझाइ छ । साथै उहाँले अहिलेको समयमा पनि दलित भएकै कारण विभेद भोग्नुपरेका अमानवीय घटनाहरु भइरहेको बताउँदै सङ्कुचित मानसिकताको अन्त्य गर्न पनि आग्रह गर्नुभएको छ ।मीटरब्याजीबाट पिडित रहेकाहरुलाई न्याय दिलाउने काममा पनि सरकारले सही कदम चाल्नुपर्ने आवश्यक्ता औँल्याउँदै उहाँले सुखी नेपाली समृद्ध नेपालको परिकल्पनालाई सार्थक पारेर सम्मुनत देश बनाउने अभियानमा सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा एसका केन्द्रीय सचिव एवम् पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरी, पार्टीका केन्द्रीय सदस्य एवम् पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापा, महानगर कमिटी अध्यक्ष मनोज चौधरी, दलित मुक्ति संगठनका केन्द्रीय अध्यक्ष गणेश बि.क., समाजवादी प्रेस संगठनका केन्द्रीय उपमहासचिव रामकुमार एलान लगायतको उपस्थिति रहेको थियो ।पत्रकार सम्मेलनको सहजीकरण समाजवादी प्रेस संगठन पर्साका उपाध्यक्ष शम्भुकुमार सुमनले गर्नुभएको थियो ।


















