सिमरा – प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीको सहयोगमा जीतपुरसिमरा उपमहानगरपालिकाका तीन जना अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर आइतबार इलेक्ट्रिक ट्राइसाइकल तथा ह्विलचेयर वितरण गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका– १ का ६९ वर्षीय दिलबहादुर बस्नेतलाई इलेक्ट्रिक ट्राइसाइकल प्रदान गरिएको हो । जन्मजात देब्रे खुट्टा नभएका बस्नेतलाई उमेर ढल्किँदै जाँदा हातले चलाउने साधारण ह्विलचेयर गुडाउन निकै सास्ती भइरहेको थियो ।
श्रीमती ठगकुमारीको सहारामा आवतजावत गर्दै आउनुभएका उहाँले इलेक्ट्रिक ट्राइसाइकल पाएपछि अनुहारमा मुस्कान छाएको छ । अब यही ट्राइसाइकलको मद्दतले सानो–तिनो व्यवसाय सुरु गरेर आफ्नै खुट्टामा उभिने र गुजारा चलाउने अठोट उहाँले व्यक्त गर्नुभएको छ । यसैगरी आठ वर्षको उमेरमा बिरामी परेपछि शरीरका हातखुट्टा नचल्ने भई पूर्णरूपमा अशक्त बनेकी जीतपुरसिमरा– १ पथलैयाकी ३६ वर्षीया शान्तिकुमारी प्रसाईंलाई पनि ह्विलचेयर प्रदान गरिएको छ । पहिलो पटक ह्विलचेयर पाएपछि शान्तिकुमारी खुसी देखिनुभएको छ भने उहाँका दाइ रामहरि प्रसाईंले अब बहिनीलाई आवतजावत गराउन निकै सहज हुने प्रतिक्रिया दिनुभएको छ ।
यता जीतपुरसिमरा– १९ का २० वर्षीय जन्मजात पूर्ण अपाङ्गता भएका जमिर अन्सारीले पनि पहिलो पटक ह्विलचेयर प्राप्त गर्नुभएको छ । फतेह आलम अन्सारीका कान्छा छोरा जमिरलाई ह्विलचेयरमा बसाउन पाउँदा परिवारका साथै गाउँलेहरूसमेत खुसी हुनुभएको छ । स्थानीय शिव पौडेल, रमेश थापा, राजदास श्रेष्ठ तथा नेपाल अपाङ्ग सेवा संघ बाराका पूर्वअध्यक्ष गंगाप्रसाद वाग्लेले प्रत्यक्ष रूपमा घरमै पुगेर ती सामग्री हस्तान्तरण गरेका थिए । अध्यक्ष वाग्लेले प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले अत्यन्तै मानवीय कार्य गरेको भन्दै गुठीको सराहना गर्नुभयो ।
समाजसेवामा सक्रिय गुठीकी संस्थापक राजी राणाले यसअघि आफ्नो ८८औं जन्मोत्सवको अवसरमा पनि जीतपुरसिमरा र कलैयाका ६ जनालाई ट्राइसाइकल र दुई जनालाई ह्विलचेयर वितरण गर्नुभएको थियो । उहाँले हालै रसुवाका बाढी प्रभावितहरूका लागि १ करोड ९ लाख रुपैयाँ नगद र २५ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग समेत गर्नुभएको थियो ।















