बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका– ३ स्थित टासिधार्गेलिङ बौद्ध गुम्बामा यस वर्षको ४१औँ गुम्बा मेला हिजोबाट शुरु भएको छ ।निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले उद्धाटन गरेपछि मेला शुरु भएको हो । उद्धघाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख पुरीले मेलाले तामाङ समुदायको सांस्कृतिक, धार्मिक र सामाजिक पहिचानसँगै व्यापार व्यवसाय प्रवद्र्धनमा मद्दत गर्ने बताउनुभयो ।

मेला व्यवस्थापन समितिका अध्यक्ष सन्जिव योञ्जनको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन, वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ, ३ का वडा अध्यक्ष गोकुल तिमल्सिना, स्थानीय समाजसेवी मानबहादुर लामा, बुद्ध लामालगायतले बोल्नुभएको थियो ।
मेलामा यसपटक चर्चित राष्ट्रिय कलाकारहरू दीपक बज्राचार्य एण्ड द रिदम ब्यान्ड, पछिल्लो पुस्ताका लोकप्रिय गायक कुमा सागर, चर्चित र्यापर मिस्टर डी (सन्दीप विष्ट) र लाहुरे (आशिष राणा) लगायतका स्थानीय कलाकारहरूले प्रस्तुति दिने जनाइएको छ ।
मेला व्यवस्थापन समितिका अध्यक्ष योञ्जनले मेलामा संगीत कार्यक्रमसंगै मेलास्थलमा रोटेपिङ, मौतका कुवाँ, जम्पिङ, कोलम्बस सवारी लगायतका मनोरञ्जन सामग्री राखिएको छ ।
यस बाहेक बालबालिका लक्षित खेल सामग्री, स्थानीय परिकारका स्टलहरू, फोटो स्पटहरू र परम्परागत झाँकीहरुको प्रदर्शन हुने भएको छ । हरेक वर्ष कार्तिक पूर्णिमाको अवसरमा गुम्बामा तामाङ्ग समुदायले आफ्ना पितृ उद्धारको लागि बत्ति बाल्ने र सोही अवसरमा ५ दिनसम्म मेला लाग्ने गरेको छ ।

यसैबीच निजगढ नगरपालिका १३ डम्बरपुरस्थित शिव शक्तेश्वर महादेव मन्दिरमा शुक्रवार एकादशी मेला लागेको छ ।
लगातार परेको पानीका कारण यस वर्ष मेलामा श्रद्धालुहरुको सहभागिता कम भएको फ्याफुल्ला युवा क्लब डम्बरपुरका अध्यक्ष प्रताप घलानले जानकारी दिनुभयो । हरिबोधिनी एकादशीको अवसरमा शुक्रवार बिहानबाट महादेव मन्दिरमा भजन, किर्तन, र पूजापाठसहित मेला लागेको हो । शक्ति खोला किनारामा महादेव मन्दिरमा हरेक वर्ष ठूलो एकादशीमा श्रद्धालुहरुले तोरण टाँङ्गे र फूल तार्ने गर्दैआएका छन । मनोकाक्षा पूरा हुने विश्वासमा भक्तजनहरुले खोला किनाराबाट बारपार तोरण टाँगेर फूल तार्ने गरेका हुन ।

Leave a Reply