वीरगन्ज,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका पूर्वअधिकृतसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।गलत लिखत तयार गरी ऐलानी जग्गामा बनेको घर राजीनामा पास गरिदिएर भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।अख्तियारले पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र तत्कालीन नायव सुब्बा लेखनाथ भट्टराई, ज्याउल हक र एसानुल हक राकीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।पर्साको साविक अलौ गाविस वडा नम्बर ५ हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १७ को कित्ता नम्बर ९२ को सार्वजनिक जग्गा गलत लिखत तयार गरी गलत राजीनामा लिखत पारित गरिदिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताउनुभयो । उनीहरुले ऐलानी जग्गामा बनेको घर कानून विपरित भोगचलन गर्न हस्तान्तरण गरेका थिए । कानूनविपरीत भोगचलन हस्तान्तरण गर्ने गैरकानूनी कार्यमा कर्मचारीलाई सहयोग गरी आफूहरूले पनि फाइदा लिई नेपाल सरकारलाई हानी पु¥याएको पुष्टि भएको हुँदा ज्याउल हक र एसानुल हक राकीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको प्रवक्ता दाहालले बताउनुभयो ।


















