सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाले वातावरणीय स्वच्छता कायम गर्न र बढ्दो प्रदूषण नियन्त्रण गर्न सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्नेहरूविरुद्ध कारबाही गर्ने भएको छ ।उपमहानगरले बिहिबार एक सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानुन उल्लंघन गरी जथाभावी फोहोर विसर्जन गर्ने व्यक्ति तथा संस्थालाई कसुरको प्रकृति हेरी ५० हजार रुपैयाँसम्म जरिवाना गरिने चेतावनी दिएको हो ।

फोहोरमैला व्यवस्थापन ऐन २०६८ र उपमहानगरको आफ्नै फोहोरमैला व्यवस्थापन कार्यविधि २०७९ लाई आधार मानी सडक, नाला, चोक, फुटपाथ तथा नदी–नालामा फोहोर फाल्न पूर्णरूपमा प्रतिबन्ध लगाइएको हो ।सूचनाअनुसार सामान्य फोहोर जथाभावी फाल्ने व्यक्तिलाई पहिलो पटक पाँच सय रुपैयाँ जरिवाना गरिनेछ भने सोही व्यक्तिले पुनः गल्ती दोहो¥याएमा प्रत्येक पटक जरिवाना रकम दोब्बर हुँदै जाने प्रावधान राखिएको छ ।
चुरोटका ठुटा र गुट्खाका प्याकेट जस्ता साना फोहोर फाल्नेलाई पनि एक सय रुपैयाँ जरिवाना तोकिएको छ ।

यस्तै, सार्वजनिक स्थलमा जनस्वास्थ्यमा गम्भीर असर पार्ने खालका फोहोर फालेमा न्यूनतम पाँच हजारदेखि अधिकतम ५० हजार रुपैयाँसम्म जरिवाना असुल गरिने उपमहानगरले जनाएको छ ।औद्योगिक र स्वास्थ्यजन्य फोहोरको सवालमा उपमहानगर थप कठोर देखिएको छ । उद्योग तथा स्वास्थ्य संस्थाहरूले हानिकारक फोहोर गलत तरिकाले व्यवस्थापन गरेको पाइएमा २५ हजार रुपैयाँसम्म जरिवाना गर्नुका साथै सम्बन्धित निकायमा अनुमति रद्दको सिफारिस समेत गरिने जनाइएको छ ।

यसका साथै अनुमति बिना सडकमा निर्माण सामग्री राख्ने वा सरसफाइ कार्यमा अवरोध पु¥याउनेहरूलाई पनि कारबाहीको दायरामा ल्याइने भएको छ । यसको प्रभावकारी कार्यान्वयनको लागि नगर प्रहरी, कर्मचारीको अनुगमन टोली र सबै वडा कार्यालयहरूलाई सक्रिय रूपमा परिचालन गरिएको जनाइएको छ ।‘सफा नगर, स्वस्थ नागरिक’ भन्ने नारालाई सार्थक बनाउन उपमहानगरपालिकाले तोकिएको स्थान र समयमा मात्र फोहोर विसर्जन गरी अभियानमा सहयोग गर्न नगरवासीसंग अपिल पनि गरेको छ ।

Leave a Reply