कलैया,सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इन्जिनियर सुरेशकुमार यादव र सवइन्जिनियर उपेन्द्र कुशवाहाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।अख्तियारका प्रवक्ता भोला दाहालले ३७ लाख ९३ हजार ३९२ रुपियाँ बिगो कायम गरी विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिनुभयो । प्रवक्ता दाहालले सिम्रौनगढ नगरपालिका– ३ मा सामुदायिक भवन निर्माण कार्य र वडा नम्बर ३ नयकाटोलमा बर्थिङ्ग सेन्टर निर्माण कार्यमा सम्झौता विपरीत निर्माण स्थलमा भएको परिमाणको झुट्ठा बिल भरपाई बनाइ भ्रष्टाचार गरेको पाइएको अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, लेखा अधिकृत चौधरी, इन्जिनियर यादव र सवइन्जिनियर कुशवाहलाई ३७ लाख ९३ हजार ३९२ रुपियाँ बिगो कायम गरी कैद र जरिवाना माग गरेको छ । साथै इन्जिनियर र सव इन्जिनियरले गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार निवारण ऐनबमोजिम कैद र जरिवाना हुनसमेत माग दाबी गरिएको छ ।यसैगरी, सामुदायिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सिकेन्द्रप्रसाद यादव, सचिव विजयकुमार यादव र कोषाध्यक्ष कविता देवी तथा बर्थिङ्ग सेन्टर निर्माण उपभोक्ता समितिका अध्यक्ष रामलोचन साह कानु, सचिव छठु गिरी र कोषाध्यक्ष अनिता देवीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।अख्तियारका प्रवक्ता दाहालका अनुसार सिम्रौनगढ नगरपालिकासँग भएको सम्झौता बमोजिमको शर्त पालना नगरी, लागत अनुमान बमोजिम गर्नुपर्ने कुनै काम नगरी कार्य सम्पन्न भएको भनी परिमाणको झुट्टा बिल भरपाई बनाएको पाइएको जानकारी दिनुभयो ।साथै, सिम्रौनगढ नगरपालिका– ३ मा सामुदायिक भवन निर्माण कार्यका लागि १९ लाख सात हजार ५३२ र सिम्रौनगढ नगरपालिका–३ नयकाटोलमा बर्थिङ्ग सेन्टर निर्माण कार्यका लागि १८ लाख ८५ हजार ८६० रुपियाँको बिल नगरपालिकाको कार्यालयमा पेश गरी भुक्तानी समेत लिई भ्रष्टाचार गरेको देखिएको प्रवक्ता दाहालको भनाइ छ ।समितिका अध्यक्ष यादव, सचिव यादव, कोषाध्यक्ष कवितालाई १९ लाख सात हजार ५३२ रुपियाँ र बर्थिङ्ग सेन्टर निर्माण उपभोक्ता समितिका अध्यक्ष साह, सचिव गिरी र कोषाध्यक्ष अनितालाई १८ लाख ८५ हजार ८६० रुपियाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
Home आर्थिक समाचार सिम्रैनगढका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
















