निजगढ,पशुमा लाग्ने लम्पीस्किन रोगको सङ्क्रमण निजगढमा बढ्दै गएको छ । दुई दिनअघि निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरको स्कुल टोल क्षेत्रमा देखिएको सो रोग अहिले आसपासको क्षेत्रसंगै निजगढ ९ को ठाडोलाइनमा समेत फेला परेको हो ।निजगढ नगरपालिका पशुसेवा शाखा प्रमुख युगलकिशोर सिंहले रतनपुरीमा देखापरेको रोग अहिले निजगढको ठाडोलाईनमा पनि देखिएको बताउनुभयो । उहाँले स्थानीय किसानले पालेको एउटा गाईमा शनिवार मात्रै सो रोगको संक्रमण देखिएको जानकारी दिनुभयो । रतनपुरी आसपासको क्षेत्रमा संक्रमण हुने क्रम वृद्धि भएको र उक्त स्थानमा अहिलेसम्म १५ वटा गाईमा संक्रमण फेला परेको उहाँले बताउनुभयो ।केही दिनअघि मकवानपुर जिल्लाका विभिन्न क्षेत्रमा देखापरेको यो रोग निजगढमा भने पहिलो पटक शनिवारमात्रै फेला परेको थियो । घातक प्रकृतिको मानिने यो रोग लागेपछि पशुको शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छाड्ने समस्या हुने गरेको उहाँले बताउनुभयो । लम्पीस्किनका कारण शरीरमा घाउ, घटिरा देखापर्ने र बिस्तारै पाकेर किरासमेत पर्ने र मृत्युसमेत हुनसक्ने पशुसेवा शाखा प्रमुख सिंहले जानकारी दिनुभयो ।सरुवा रोग भएकोले नियन्त्रणको लागि आफ्ना पशुहरुलाई घरबाहिर चरिचरणमा नलैजान पनि सिंहले किसानहरुलाई सल्लाह दिनुभएको छ । हावा, झिङ्गा, लामखुट्टे किर्ना र अन्य किराहरुबाट समेत स्वस्थ पशुमा रोग सर्ने उहाँले बताउनुभएको छ ।



















