वीरगन्ज,स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने भन्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन नै जारी गरेपनि वीरगन्जको नारायणी अस्पतालको तयारी भने सन्तोषजनक रहेको छैन । नारायणी अस्पतालले तेस्रो लहरसंग जुध्न आवश्यक तयारी समयमै सुरु नगरे वीरगन्जको अवस्था फेरि अवस्था भयावह हुनसक्ने सरोकारवालाहरुले बताएका छन् ।

नारायणी अस्पतालमा करिब २ महिनाअघि स्थापनाको प्रक्रिया अघि बढेको अक्सिजन प्लान्ट अहिलेसम्म पनि सन्चालनमा आउन सकेको छैन । पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विमल श्रीवास्तवको संसदीय कोषबाट प्रदान गरिएको २ करोड रुपैयाँ बजेटले अक्सिजन प्लान्ट राख्ने तयारी गरिएको भएपनि प्लान्ट स्थापना गर्न थालेको २ महिना हुन लागिसक्दा पनि त्यसले पूर्णता पाउन सकेको छैन । संघीय सरकारबाट प्लान्ट निर्माणका लागि सामन नै पठाइँदा पनि ती सामान समेत प्रयोग बिहीन बनेका छन् । दोस्रो लहरका बेला अक्सिजनको माग धेरै भएकाले अस्पतालमै प्लान्ट स्थापना गरेर अक्सिजनको अभाव अन्त्य गर्ने भनिएको थियो । त्यसका लागि बजेट र आवश्यक सामानको जोहो भइसकेको भएपनि अस्पताल व्यवस्थापन पक्षको असक्षमताले काम हुन नसकेको अस्पतालकै कर्मचारीले बताएका छन् ।

अस्पतालका निमित्त मेसु डाक्टर. वीरेन्द्रबहादुर प्रधानले भने कोरोनाभाइरस संक्रमणको तेस्रो लहरसँग जुध्न तयारी भईरहेको बताउनुभयो । गत वर्षभन्दा हाल अस्पतालको तयारी दुरुस्त अवस्थामा रहेको उहाँको दाबी छ । स्वास्थ्य मन्त्रालय, दातृ निकाय र सरोकारवालालगायतकाको सहयोगले तेस्रो लहरसँग जुध्न अस्पताललाई सक्षम बनाएको उहाँले बताउनुभयो । अस्पतालको मातहातमा रहने गरि २ सय शैयाको कोभिड विशेष अस्पताल निर्माणका लागि टेण्डर गरेर जिम्मा लगाईसकिएको जानकारी दिदै उहाँले २४ सँै घण्टा काम गरेर भएपनि यथाशिघ्र कोभिड विशेष अस्पताल निर्माणको तयारीमा आफूहरु लागिपरेको बताउनुभयो । अक्सिजन प्लान्टको एउटा भाग स्थापना भईसकेको र सञ्चालनको तयारी थालिएको डा. प्रधानको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here