कलैया,मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको रकम बगलीबाटै चोरी भएको छ ।बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष विजयी बनेपछि आयोजना गरिएको ¥यालीमा सहभागी हुने क्रममा आफनो बगलीबाट ५० हजार रुपैया चोरी भएको मुख्यमन्त्री यादवले जानकारी दिनुभयो । आइतबार जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना कार्यक्रममा उहाँले आफ्नो पाकेट मारिएको सुनाउनुभयो । यसअघि पनि एक पटक आफू पाकेटमारको सिकार भएको उहाँले सुनाउनुभयो ।पहिलो घटना सुनाउँदै उहाँले भन्नुभयो, ‘म सभामुख हुँदा गाउँ गएको थिएँ, मेरै खल्तीबाट ५० हजार काटियो ।’दोस्रो पटक फेरि पनि आफू पाकेटमारबाट पीडित बनेको उहाँको भनाइ छ । उपनिर्वाचनको विजय ¥यालीमा सहभागी भएको बेलामा आफ्नो खल्तीबाट पैसा चोरिएको उहाँले सुनाउनुभयो । ‘बिहीबार, मेरो घरबाट दुई किलोमिटर पर उपेन्द्रजीको विजय जुलुस आयो । म त्यहाँ गएँ । त्यो दिन फेरि मेरो खल्तीबाट पैसा चोरिदियो ।’कार्यक्रममा बोल्दै आफ्नो पाकेट मारिएको घटना सुनाउँदै उहाँले देशमा शान्ति सुरक्षाको अवस्था कमजोर भएको बताउनुभयो । पटक पटक पाकेटमारी हुनु, मुख्यमन्त्रीको सवारीका बेलामा समेत ट्राफिक प्रहरीहरु सडकमा मोबाइलमा गफ गरेर बस्नु जस्ता गतिविधिले प्रदेशको सुरक्षा कस्तो छ भन्ने देखाउने उहाँले बताउनुभयो ।प्रदेशमा भ्रष्टाचार बढेको भए पनि नियन्त्रणका लागि आफूसँग कुनै निकाय नभएको उहाँको गुनासो थियो । प्रदेश सरकारलाई प्रहरी समायोजन र कर्मचारी समायोजन अति आवश्यक भइसकेको उहाँले बताउनुभयो । संघ सरकारले प्रदेश सरकारसँग समन्वय समेत नगरेको गुनासो गर्नुभयो ।प्रदेश सरकारसँग समन्वय नभएसम्म कुनै आयोगले पनि निष्पक्ष तरिकाले पीडितले न्याय पाउने गरी कार्य सम्पादन गर्न नसक्ने उहाँको भनाइ थियो । कर्मचारी समायोजन र प्रहरी समायोजन गरिदिए २४ घण्टाभित्र सबै पीडितलाई न्याय दिइ दोषिलाई कठघरामा उभ्याउने उहाँले प्रतिवद्धता जनाउनुभयो ।मिटरब्याज सम्बन्धि जाँचबुझ आयोगले जनकपुरधाममा आइतवारदेखि केन्द्रिय कार्यालय सञ्चालनमा ल्याएको छ । प्रारम्भिक काम जारी राखेको आयोगले जनकपुरधाममा कार्यालय स्थापना गरी कार्यसञ्चालन सुरु गरेको हो ।सरकारले मिटरब्याज पीडितको माग सम्बोधन गर्नका लागि गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । कार्यालय स्थापना भएसँगै मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन पीडितहरूको निवेदन आह्वान गरिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिनुभयो ।निवेदन आइतवारदेखि वैशाख ३१ गतेसम्म १५ दिनभित्र दिनुपर्ने आयोगले जनाएको छ । मिटरब्याज पीडितहरूले आफूसँग उपलब्ध रहेका प्रमाणसहित अनलाइनबाट सिधै आयोगमा वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्ने बताइएको छ ।















