कृष्णउदास खनाल
गोरखा (भच्चेक),चाक्ला परेका र साना खेतका गरा, गोरुले समेत जोत्न मुस्किल पर्ने खेत अनि गोरु पाल्नुपर्ने कृषकहरुको बाध्यता , नेपालको पहाडी क्षेत्रका कृषकहरुको बाध्यता हो यो ।
यद्यपि पछिल्ला दिनमा भने पहाडी क्षेत्रका कृषकहरु गोरु पाल्न छाडेर हाते ट्याक्टरतिर आकर्षित हुन थालेका छन् । गोरखाको अजिरकोट गाउँपालिकाका कृषकहरु गोरु पाल्न भन्दा हाते ट्याक्टरले जोतेर काम गर्न थालेका छन् । गोरु पाल्न महँगो पनि हुने र गोरु भन्ने बित्तकै पाउन नसकिने भएकाले पनि हाते ट्याक्टरतिर कृषकहरुको आकर्षण बढेको अजिरकोट गाउँपालिका वडा नम्बर ३ डिहीटारका हाते ट्याक्टरका चालक बिष्णुप्रसाद अधिकारीले बताउनुभयो । उहाँले हाते ट्याक्टरको एकदमै धेरै माग भएको र आफूले जोत्दै गर्दा पनि काम भ्याउन मुस्लिक हुने गरेको बताउनुभयो । आफूले घण्टाको एक हजारका दरले पारिश्रमिक लिने गरेको जानकारी दिनुभयो । आफू जस्तै थोरै व्यक्तिसंग मात्रै ट्याक्टर भएकाले पनि कामको चाप बढेको उहाँको भनाइ छ ।
गोरु पालेर खेत जोत्नुभन्दा ट्याक्टरबाट छिटो र सजिलो पनि हुने भएकाले आफूहरुले बिगत केही बर्षदेखि ट्याक्टरको प्रयोग गर्दै आइरहेको स्थानीय कृषक कल्पना खनालले बताउनुभयो । हाते ट्याक्टर ग्रामीण भेगमा संचालन गर्दा डिजेलको ढुवानी र मर्मतमा भने समस्या हुने गरेको ट्याक्टरका चालकहरुको गुनासो छ ।