वीरगंज, २९ कार्तिक ।
वीरगंज महानगरका मेयर राजेशमान सिंहले महानगरको कार्यालयबाट प्रदान गरिने सेवाको प्रभावकारीता बारे छड्के अनुगमन गर्न थालेका छन् ।महानगरवासीलाई परिवर्तनको अनुभुती गराउन विगतमा सुस्त गति, सेवाग्राहीको काममा आनाकानी र हैरान गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न मेयर सिंह छड्के अनुगमनमा आफै निस्किन थालेका छन् ।
सोमबार महानगरको स्वास्थ्य शाखाले आयोजना गरेको एउटा कार्यक्रममा सहभागी हुन पुगेका मेयर सिंहले अचानक हरेक फाटमा पुगेर कायार्मलय समयमा नआउने , आएर पनि मोबाइलमा व्यस्त देखिएका र विभिन्न बहाना बनाइ सेवाग्राहीलाई अल्झाएका कर्मचारीसंग तत्काल जवाफ लिइ आइन्दा यस्तो नगर्न नगराउन निर्देशन पनि दिए ।
जनताले काम गर्न नेतृत्वमा आफुलाइ चुनेको भन्दै मेयर सिंहले भने ,‘ ‘मेरो कामले वीरगंजवासीले महानगरमा परिवर्तनको अभाष नगरे सम्म कुनै कर्मचारीलाई आनाकानी गर्न छुट दिइने छैन’ ।
काम गराउन आएका सेवाग्राहीहरुसंग पनि कुरा गर्दै मेयर सिंहले उनिहरुका समस्या र कर्मचारीहरुले दिएको सेवा बारे जानकारी लिए । कुनै समस्या भए आफुसंग सिधा सम्पर्क गर्न मेयर सिंहले अनुरोध गरेको स्वकीय सचिव सत्यराज धिमिरेले जानकारी दिए।
मेयर सिंहको छड्के अनुगमनले लापरबाही, सेवाग्राहीलाई घुमाउने कर्मचारीको बानीमा सुधार आउने र विगतका दिनहरूमा आफैं खुसी गरेको मनोमानी अब नचल्ने भन्दै त्यहां रहेका सेवाग्राहीले मेयर सिंहको प्रशंसा पनि गरेका थिए ।